बागलुङ - ठुलो चट्टान सहितको पहिरोका कारण कालिगण्डकी करिडोर बागलुङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । करिडोरको बागलुङ–बलेवा खण्ड अन्तरगतको बागलुङ नगरपालिका–१३ पैयुँपाटा कालाखोलामा माथिबाट आएको चट्टान सहितको पहिराले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक केशव थापाले जानकारी दिए ।
गत शनिबार सोही ठाउँमा आएको पहिरो मंगलबार विहान मात्र हटाउन सफल भएर एकतर्फी रुपमा यातायात संचालनमा ल्याईएको थियो । तर बुधबार विहान करिब ९ः३० बजेको समयमा ठुलै चट्टान नै खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको मालढुंगा प्रहरी चेकपोष्टका प्रहरी हवल्दार रामप्रसाद आचार्यले जानकारी दिए । आचार्यका अनुसार अहिले वर्षा भएको र पहिरो झनै खस्दै गएको छ यस अघि गएकै ठाउँमा थपिएका कारण पहिरो हटाउनका लागि तत्काल कठिनाई रहेको बताईएको छ ।
सडक अवरुद्ध हुँदा दक्षिण बागलुङको सिधा यातायात टुटेको छ । बलेवा क्षेत्र, जैमिनी र बरेङ गाउँपालिका क्षेत्रबाट सदरमुकाम आउने यातायातका साधन ठप्प भएका छन । विगतका वर्षमा करिडोरको यस खण्डमा दब्लाङको पहिरोले पनि समय समयमा सताउँदै आएकोमा यस वर्ष कालाखोलाको पहिरोले झनै कठिनाई बनाएको छ ।