नेकपा एमालेका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले नेकपा एमालेको पार्टी एकतालाई जोगाई राखेमा नयाँ पार्टी बनाएका वरिष्ठ नेता माधव कुमार नेपाल पुन एमालेमै ओत लाग्न आउने दाबि गरेका छन ।
नेकपा एमाले बागलुङले विहिबार बागलुङमा बजारमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले पार्टीलाई एउटै ढिकामा राख्न सकेमा बरिष्ठ नेता नेपाल पुर्न फर्कने बताएका हुन । उनले कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने क्षमता र तागत एमाले सँग मात्र रहेको हुँदा बाहिर रहेका नेताहरु पनि पुन एमालेमै फर्कने जिकिर गरे ।
पुर्व अर्थमन्त्री समेत रहेको पाण्डेले पछिल्लो डेढ वर्षमा आपसी झगडाकै कारण विथामा समय गएको हुँदा आफुहरुलाई पश्चाताप लागे पनि विगतबाट पाठ सिक्नुको विकल्प नरहेको बताए । ‘पछिल्लो केही वर्ष यता पार्टी भित्र जे जस्ता समस्या र प्रवृत्ति देखा परे, त्यसको समयक्रममा यथोचित समिक्षा हुने नै छ, २०५४ सालमा पार्टी विभाजन हुँदाको समिक्षा अहिले सम्म भएको छैन,’ उनले भने, ‘पार्टी भित्र विवाद र बहस हुन्छ, तर यसको समाधान विभाजन हुनै सक्दैन, माधव नेपाल र केही साथीहरुले यही बाटो रोज्नुभएको छ, अहिले हामी मिलेर एमाले आन्दोलन जोगाउ, माधव नेपालहरु ढिलोचाडो एमालेमै ओत लाग्न आउनुहुनेछ ।’
पार्टी भित्रको विवाद हल गर्न माधव नेपालकै सहमतिमा १० बुँदे प्रस्ताव तयार गरिए पनि अन्तिम समयमा अस्वीकार गरिएको बताए । ‘पार्टी भित्र समस्या निश्चय छन्, सँगै आन्दोलन अभियानमा हिँडेका साथीहरुलाई दुश्मन देख्ने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘यसलाई बिधि र प्रणाली मार्फत समाधान गर्न सकिन्छ ।’ एमालेलालाई अब परम्परागत हिसाबले नभई शिक्षित र सक्षम नेता कार्यकर्ता बनाएर आगामी निर्वाचनका लागि तयार रहनुपर्नेमा उनको जोड थियो ।
एमाले २०७५ जेठ २ मा फर्किए पनि नेकपा एकताको क्रममा आएर पूर्ववत अवस्थामै फर्किदा पनि एमालेमै रहेका पूर्व माओवादीलाई यथोचित जिम्मेवारी र भूमिका दिइने उनले बताए । उनले कम्युनिष्ट पार्टीहरु एक जुट नभएमा पुजीबादी शक्ति अर्थात नेपाली काँग्रेसले फाईदा लिने बताए । कम्युनिष्ट पार्टी अहिले विभाजनमा रहे पनि भोलिका दिनमा पुन एक ठाँउमा हुने विश्वास रहेको बताए ।
तस्बिरः नेकपा एमालेले बागलुङमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सुरेन्द्र पाण्डे ।