नारायण रिजाल- मंसिरको अन्तिम साता देखी माघको पहिलो साता सम्म घरको आगनमा पारिलो घाम सँगै गुन्द्रीका तान तन्किएका हुन्थे । ती तानमा सासु बुहारी, आमा छोरी वा दिदि बहिनीले हतासोले ‘झ्याकझ्याक’ गर्दै गुन्द्री कसिरहेका भेटिन्थे । गुन्द्री बुन्नका लागि कात्तिकमा धान भित्राउने बेलामै पराल छुट्टाईन्थ्यो । यसरी नै हरेक वर्ष गुन्द्री बुन्ने गरिन्थ्यो । तर यो परम्परा भने केही वर्ष देखी विस्तारै हराउँदै गएको छ । गाउँमा कही कतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । हिजोआज भने गुन्द्री बुन्ने चलन फाट्टफूट्टमात्र भेटिन्छन् । बाबियोको डोरीको तानमा पराल मिलाएर राखेपछि एक÷दुई दिनमै तयार हुने गुन्द्री अहिले कमैमात्रमा पाइन्छ । अचेल बाबियोको ठाउँमा जुट र प्लास्टिकका डोरी प्रयोग हुन थालेका छन् ।
प्लास्टिकका गुन्द्री र म्याटले परम्परागत गुन्द्री विस्थापन
बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चल हराउँदै गएको छ । गाउँघरमा केहीले मात्र आफुलाई आवश्यक पर्ने गुन्द्री मात्र बुन्दै आएका छन । पहिले पहिले जस्तो चलन हराएको छ । तर यस्तो अवस्थामा पनि जिल्लाको बागलुङ नगरपालिका–१३ की नन्दकली चपाई भने परम्परालाई धानेकी छन । उनले हरेक वर्ष १० देखी १५ वटा सम्म गुन्द्री बुन्दै आएकी छन । बाबियाको डोरी नबनाए पनि जुटको डोरी प्रयोग गरेर हरेक वर्ष गुन्द्री बुन्दै आएकी छन । चिसोबाट बच्न गुन्द्री अति उपयोगी हुने र विस्कुन सुकाउन पनि यो सहज हुने हुँदा हरेक वर्ष आफुले पुरानो परम्परा धानेको चपाई बताईन । ‘गुन्द्रीले धेरै न्यानो बनाउँछ । खाटमा होस वा पलाङमा हामी यसलाई ओछ्याए पछि मात्र विस्तारा लगाउँछौें,’ उनी भन्छिन्,’ अहिले पनि यो नओछ्याई निन्द्रै लाग्दैन । पाहुनलाई स्वागत गर्दा ओछ्याउने गाउँले गलैचा भनेकै गुन्द्री नै हो ।’
झन्झटिलो मान्छन नयाँ पुस्ता
विवाह ब्रतबन्ध होस् वा अन्य सामाजिक संस्कारका काम गर्दा पनि गुन्द्री अति उपयोगी मानिन्छ । परालबाट बन्ने र यता उता लैजाँदा हलुका र झण्झट नहुने हुँदा यो अति नै उपयोगी हुने चपाईले बताईन । ‘हाम्रो पालामा त बाबियो काटेर । बाबियो बाटेर तान लगाइ गुन्द्री बुन्ने चलन थियो । अहिले त बाबियो पनि मासिँदै गयो । बाबियो, परालको गुन्द्रीको प्रयोग घट्दै छ,’ चपाई भन्छिन् ।’ पहिलेको तुलनामा अहिले धेरैले प्लास्टिकका गुन्द्री म्याट प्रयोग गर्छन ।
गुन्द्री बुन्नका लागि भने केही समय लाग्ने हुँदा पछिल्लो पुस्ताहरु यो चलनलाई छाड्दै गएको बागलुङ नगरपालिका–१४ नारायणस्थानकी देवी पौडेल बताउँछिन । समय धेरै लाग्ने र झन्झटिलो मान्ने हुँदा अहिलेका छोरी बुहारीले यस प्रति चासो नदिएको उनको गुनासो रहेको छ । गुन्द्री बुन्नका लागि नयाँ पुस्तालाई सिक्ने चासो छैन । यसरी चासो नदिने हो भने हाम्रो परम्परा हराउँदै जान्छ । गाउँको भन्दा शहरीया उत्पादनले बढि ठाउँ ओकटने छ । तुलनात्मक रुपमा प्लास्टिकको गुन्द्री चिसो हुने र महंगो पनि पर्ने हुँदा यो चलनलाई जोगाउनुपर्ने पौडेलको भनाई छ ।
यसरी बुन्ने गरिन्छ गुन्द्री
कात्तिकमा धान भित्राउने क्रममा गुन्द्री बुन्नका लागि पराल छुट्याएर राखिन्छ । त्यो बेला लामो र दरो पराललाई गुन्द्री बुन्नकै लागि भनेर छुट्याईन्छ । हिउँदको बेला जब काम सकिन्छ घर नजिकै समथर बारी, आँगनमा तलमाथि चारवटा किला गाडिन्छ । तलमाथिका किलामा नै दुईवटा काठ तेर्साईन्छ । काठको हतासो भित्र डोरी छिराइन्छ । डोरी काठमा बाँधिन्छ । सर्लक्क परेका लामो परालको त्यान्द्रा हाली हतासोले ठोकिन्छ अनि दायाँबायाँ हातैले बिट मारिन्छ । बिट मार्नका लागि पनि कला चाहिन्छ । यसरी नै गुन्द्री बुनिन्छ । लामो परालको गुन्द्री बुन्न सजिलो हुने र गुन्द्री राम्रो हुने पौडेलले बताईन । निरन्तर दुई जना भएर बुनेमा एकदिनमै एउटा गुन्द्री बुन्न सकिने भएन पनि दिनभरि नै टुक्रुक्क परेर बस्नुपर्ने भएकाले केही सकस हुने गरेको उनकोे अनुभव छ ।
पुराना परम्परा र संस्कृतिको संरक्षण गर्न जरुरी
पुराना पुस्ताका अनुसार विगतमा घरमा आएका पाहुनालाई नयाँ गुन्द्री निकालेर बस्न आग्रह गर्दा प्रतिष्ठाको विषय हुन्थ्यो । इज्जत हुन्थ्यो । तर अहिले परालको गुन्द्रीको सट्टामा प्लास्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेको छ । घरमा आएकालाई अचेल बस्नलाई आधुनिक कुर्सी, बेन्च दिइन्छ । यसले समाजको मौलिक परम्परालाई नै भुलाई दिएको छ । गाउँघरमै प्लास्टिकजन्य गुन्द्रीको प्रयोगले परनिर्भर बनाउनुका साथै पुर्खयौली सिप, हस्तान्तरण गर्ने संस्कृतिमा पनि कमी आएको बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल बताउँछन । नयाँ पुस्ताले चासो नदिनुका साथै परम्परागत सिप हस्तान्तरणको अभावमा गाउँघरमै अहिले गुन्द्री बुन्न जान्नेको संख्या पनि घट्दै गएको छ । बलेवा क्षेत्रमा यसको मौलिकता भने अझै रहेका कारण यसलाई संरक्षणका निम्ती वडा कार्यालयले विशेष पहल थाल्ने पौडेलले बताए ।
‘आधुनिकता र सजिलोको नाममा हाम्रा मौलिक संस्कृतिसँग जोडिएका परम्परागत गुन्द्री, र चकटी डोका नाम्लाहरु बुन्ने, प्रयोग गर्ने चलन संकटमा पर्छन की भन्ने पिर लाग्न थालेको छ, पौडेलले भने,– ‘यसको संरक्षण गर्नका निम्ती अहिलेका स्थानिय सरकारले जोड दिन जरुर रहेको छ । संरक्षण र प्रवद्र्धनका निम्ती नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि पुर्खयौली सिप हस्तान्तरण गर्न जरुरी रहेको छ ।’ नयाँ पुस्ताले परम्परागत बस्तुहरुको उत्पादनमा ध्यान नदिनेहो भने हाम्रा मौलिक परम्परा, संस्कृति संरक्षण गर्न कठिनाई हुने उनले बताए ।