बागलुङ–काठमाडौ सुविधा सम्पन्न बस सञ्चालन 

  • साउन २९, २०८२

बागलुङ- धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.ले बागलुङदेखि काठमाण्डौंका लागि नयाँ बस सेवा सुरु गरेको छ । बुधबार देखी रात्री सेवा अन्तर्गत कम्पनीले सुविधा सम्पन्न अत्याधुनिक बस सञ्चालनमा ल्याएको हो ।  भारतमा हालसालै बनेको उक्त बसमा नेपाल सरकारले ४० सीट राख्न अनुमति दिएता पनि यात्रुलाई आरमदायिक यात्राका लागि २८ सीट मात्रै जडान गरेर सञ्चालनमा ल्याएको छ ।

बायाँतर्फ दुई र दायाँतर्फ एक सीट मात्रै रहेको बातानुकुलीत बसलाई लैंगिकमैत्री बस सेवाका रुपमा सञ्चालनमा ल्याईएको प्रा.लि.का अध्यक्ष उमेश केसीले बताए । एक सिटमा अलगै बस्न खोज्ने महिला तथा बालबालिकाका लागि सीट सुरक्षित गरेर सेवा सञ्चालनमा ल्याईएको उनले बताए । यसअघि पनि कम्पनीले बातानुकुलीत बस सेवा सञ्चालनमा ल्याए पनि दुवैतर्फ दुई÷दुई सीट जडान भएका थिए ।

नयाँ सञ्चालनमा ल्याईएका बसहरुमा यात्रुका लागि सिट पनि आरामदायी रहेको, अघिपछिका सबै सीट समान रहेको उनले बताए ।

बागलुङदेखि काठमाण्डौंका लागि हरेक दिन समयमा छुट्ने र समयमा पुग्ने बस सेवाको रुपमा नयाँ बस सेवालाई लिईने केसीले बताए । नयाँ बस सेवाको भाडा भने एक हजार सात सय प्रतिव्यक्ति तोकिएको छ । बसमा सवार सबै यात्रुका लागि खाजा र पानीको निशुल्क व्यवस्था गरिने उनले बताए । बस सेवाको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया