३४ वर्ष देखी रोजगारीका लागि भारत गएको छोरा फर्किने आशामा होमकला 

  • चैत २५, २०८२

बागलुङ- हातमा छोराको फोटो लिएर हरेक निकायमा खोजीदिन आग्रह गर्दै भौतारिएकी छन होमकला । बागलुङको जैमिनी नगरपालिका–२ दमेक की ७४ वर्षीया होमकला दमाईका आफ्नो जेठो छोराको यादमा सायद कहिल्यै आँखा ओभाना भएनन् ।
हरेक दिन, घर नजिकैको बाटोमा ओहोर–दोहोर गर्ने हरेक अनुहारमा उनी आफ्नो हराएको छोराको झल्को खोजिरहेकी हुन्छिन् ।
१८ वर्षको कोमल उमेरमा रोजगारीको सपना बोकेर भारत हिँडेका छोरा बलबहादुर परियार (मिठे) आजसम्म घर फर्किएनन् ।  समयले ३४ वर्ष पार गरिसक्यो, तर होमकलाको प्रतीक्षा अझै त्यत्तिकै ताजा छ—जसरी हिजोको दिन जस्तै । 
आशा छ—एक दिन ढोका ढक्ढक्याउँदै आइपुग्ने छ
“२०३० सालमा जन्मिएको मेरो छोरा, भर्खरै विवाह गरेर घरको अवस्था सुधार्ने सोचले विदेशिएको थियो,”होमकला भक्कानिँदै भन्छिन,–‘त्यो जिउँदो छ कि छैन, केही थाहा छैन तर मेरो मनमा अझै आशा छ—एक दिन ढोका ढक्ढक्याउँदै आइपुग्ने छ ” छोरा लामो समय नफर्किएपछि, उनले आफ्नै मन कठोर बनाएर बुहारीलाई दोस्रो विवाह गर्न प्रेरित गरिन् । छोरा आएन बुहारीलाई छोरी झै अर्कैसँग विहे गर्न लगाए त्यसको घरजम राम्रोसँग चलेको छ, त्यसमा मलाई खुशी छ,” उनी भन्छिन्  तर मेरो मनको खाली ठाउँ कसले भर्ने?”
उनी र उनका श्रीमान भारतसम्म पुगे तर कही भेटेनन् 
छोरा मिठेको खोजीमा उनी र उनका श्रीमान भारतसम्म पुगे तर त्यहाँ पनि कुनै सुराक भेटिएन । निराश भएर फर्किएका उनको जीवनमा अर्को पीडा थपियो—छोराको प्रतीक्षा गर्दै–गर्दै उनका श्रीमान् पनि संसारबाट बिदा भए । अहिले न श्रीमान छ न छोरा फकिएर आउँछ “अब त छोरा हरायो, बाउ पनि गयो होमकला भन्छिन म त बस् कुर्दै छु  सायद त्यो आउनेछ भनेर ।”
अहिले उनको साथमा कान्छो छोरा छन, जो भारतको मद्रासमा काम गर्छन र बेलाबेलामा घर आउँछन । छोरीको विवाह भइसकेको छ, घरमा कान्छी बुहारी र नातिनातिनाको चहलपहल पनि तर यी सबैबीच पनि होमकलाको मनको एउटा कुनामा सधैं एउटै अभाव गुञ्जिरहन्छ— घरछाडेर नफर्किएका जेठो छोरा मिठेको । 
सास रहुञ्जेल म बाटो हेर्नेछु मेरो छोरा फर्किने दिनको प्रतीक्षामा छु 
“आश मरेको छैन,”उनले फेरि दोहोर्याउँछिन—“सास रहुञ्जेल म बाटो हेर्नेछु मेरो छोरा फर्किने दिनको प्रतीक्षामा छु ।” आफ्नो छोराको खोजीका लागि उनी स्थानिय जनप्रतिनिधि र नगरपालिकामा रहेको आप्रवासी श्रोत केन्द्र समेत पुगेकी छन् । त्यहाँबाट सम्बन्धित निकायमा खोजी कार्यका लागि प्रयास थालिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । शर्माका अनुसार विभिन्न निकायमा होमकलाको अपिल अनुसार बलबहादुरको विवरण पठाएको र खोजी कार्यका लागि नगरपालिकाले समन्वय गरेको छ । जैमिनी नगरपालिकाबाट बलबहादुर सहित विभिन्न देशमा गएर बेपत्ता यस वर्ष ३ जनाको खोजी कार्यका लागि विभिन्न निकायमा अपिल गरिएको श्रोत केन्द्रका मनोसामाजिक परामर्शकर्ता सुनिता आचार्यले बताईन । 
५ जना बेपत्ता भएका ९ जना उद्धार गर्नुपर्ने
जिल्लामा यस वर्ष मात्र ५ जना बेपत्ता भएका ९ जना उद्धार गर्नुपर्ने विवरण रहेको थियो । त्यस मध्ये ६ जनाको उद्धार भै सकेको र ३ जना परिवारमा सम्पर्कमा आएको आप्रवासी श्रोत केन्द्र बागलुङका सूचना तथा परामर्शकर्ता गंगा शर्माले जानकारी दिईन । बैदेशिक रोजगारीमा गएर हराएका, मृत्यु भएका र रोजगारीको सिलसिलामा जाँदा ठगिएकाहरुलाई श्रोत केन्द्रले उद्धार गर्दै आएको छ । 
 

प्रतिक्रिया