बागलुङ- स्याङ्जामा भएको दोस्रो पुतलीबजार कप अन्तरपालिका भलिबल प्रतियोगितामा विजेता बनेको बागलुङको गलकोट भलिबल टिमका खेलाडीलाई आईतबार बागलुङ बजारमा बिशेष सम्मान गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति, बागलुङ पर्यटन विकास समिति र गलकोट समाज बागलुङले खेलाडीलाई आईतबार एक कार्यक्रमका बिच सम्मान गरेको हो । विजयी खेलाडी टिम प्रशिक्षक सुरेन्द्र केसी, कप्तान राजु विकसहित खेलाडी मिन सुनार, कुश्मन थापा, प्रकाश सुनार, बिमल परियार, रिजन राना, लक्ष्मण सुनार, दीपक मल्ल, इन्द्र विक र मोहित थापा सम्मानित भएका छन ।
सम्मान ग्रहण कार्यक्रममा बाेल्दै प्रशिक्षक केसीले खेलाडीलाई राज्यले संरक्षण गर्नुपर्ने बताए । । सम्मानले खेलडीलाई उत्प्रेरणा जगाउने उहाँको भनाइ छ । “विजेता बनेर आउँदा मात्र होइन, खेलमा जाँदा पनि सम्मान र बिदाइ गर्ने चलन बसाल्नुपर्छ”, प्रशिक्षक केसीले भने ।
टिम व्यवस्थापन गरेर हिँड्नु चुनौतीपूर्ण भएको भन्दै उहाँले खेलाडीका समस्या धेरै भएको सुनाए । त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासङ्घ बागलुङका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले खेलकामार्फत देशको छबि निर्माण गर्न सकिने धारणा राखेका थिए ।
कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका प्राडा दिनबहादुर थापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले खेलाडीको व्यावसायिक हितमा राज्यले सोचे जसरी काम गर्न नसकेको बताए ।
स्थानिय खेलाडीहरुले ५ लाख धनराशीको पुरस्कार जितेर बागलुङको नाम राखेकोमा उनिहरुसंगै रहेर खुशी बाड्दा धेरै खुशी लागेको पर्यटन ब्यवसायी अर्जुन चोखालले बताए । गलकोट नगरपालिकाको प्रतिनिधित्व गर्दै देशका विभिन्न जिल्लामा हुने भलिबल प्रतियोगितामा गलकोटको टिमले सफलता हात पार्दै आएको छ । दुई वर्षअघि भएको पहिलो पुतलीबजार कप भलिबलको उपाधि पनि यही टिमले जितेको थियो ।