प्रेस युनियनको सदस्यता विशेष अभियान बागलुङमा सुरु

  • साउन २२, २०८२

बागलुङ- नेपाल प्रेस युनियनको सय दिने सदस्यता विशेष अभियान बागलुङमा सुरुवात गरिएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको उपस्थीतिमा बिहीबार अभियानको सुरुवात गरिएको हो । अध्यक्ष लम्सालले नयाँ सदस्य इशिका थापा मगर र शिशिर जिसीलाई नेपाल प्रेस युनियनको सदस्यता प्रदान गरी अभियानको सुरुवात गरे । गण्डकी प्रदेशमा बागलुङ यो अभियानको सुरुवात गर्ने पहिलो जिल्ला पनि हो । यो अभियानमा पुुराना सदस्यको सदस्यता नविकरण गर्ने र नयाँ पत्रकारलाई प्रेस युनियनको सदस्यता प्रदान गरिनेछ । 
कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले प्रेस युनियनलाई श्रमजिवी पत्रकारहरुको बलियो संगठन बनाउनका लागि यो अभियान सञ्चालन गरिएको बताए । ‘अहिले जो पनि पत्रकार हुने भन्ने खालको प्रश्न हामीमाथि छ,’उनले भने,‘हामी हाम्रो संगठनलाई विशुद्ध श्रमजिवी पत्रकारको संगठन बनाउन र पत्रकार र पत्रकारिताको विकासमा लगाउन लागि यो अभियान चलाएका हौं ।’ पत्रकारितालाई पेशा बनाएकालाई मात्र प्रेस युनियनमा आवद्ध गराउनेगरी अभियान चलेको उनले बताए ।
 ‘पत्रकार महासंघले पनि सदस्यता सुद्धीकरण भनेर अभियान चलायो, त्यसमा अनेकन विवाद पनि भए,’उनले भने,‘हामीले हाम्रो संगठनलाई पत्रकार आवद्ध बनाउने र अन्य क्षेत्रमा प्रवेश गरेकालाई विदाई गर्ने अभियान हो ।’ सधैं महाधिवेसन केन्द्रीत सदस्यता वितरणले समस्या देखिएकाले यस पटक पहिले नै यो अभियान चलाएको उनले बताए । फरक प्रसङ्गमा उनले अहिले डिजीटल सञ्चार माध्यमहरु स्थानीय अधिकारीले दर्ता गर्ने भनेर आएकोमा आफुहरुको असहमती भएको बताए ।
 ‘डिजीटल सञ्चारमाध्यम दर्ता गर्ने भन्ने हुनै सक्दैन, अभिलेखीकरण गर्ने हो । अभिलेखीकरण गर्ने कुरालाई राज्यसले साँच्चै सजिलो बनाउन खोजको हो भने वडा वडाबाट अभिलेखीकरण हुने व्यवस्था गर्नुपर्छ । होईन भने यो विषय मान्य हुन सक्दैन ।’ अभिलेख गर्ने र दर्ता गर्ने विषय फरक भएको उनले उल्लेख गरे । ‘स्थानीय अधिकारीलाई मन लागे दर्ता गर्ने मन नलागे दर्ता नगर्ने भन्ने गरी अधिकार दिने विषयमा हामी सहमत छैनौं,’उनले भने,‘दर्ता गर्ने कुरा पहिले नै डोमिन लिदा नै दर्ता भैसकेको हुन्छ । त्यसलाई अभिलेख गर्ने र नियमन गर्ने निकाय स्वायत्त संस्था हुनुपर्छ भनेर हामीले भन्दै आएका छौं ।’ 
उक्त अवसरमा केन्द्रीय अध्यक्ष लम्सालले जिल्ला अध्यक्ष संगम घर्तीमगरलाई सदस्यता फाराम हस्तान्तरण गरेका थिए । नेपाल प्रेस युनियन बागलुङले यस अगाडि बाटै सदस्यता नविकरणको प्रक्रिया थालेको छ । अबको एक महिना भित्र सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको पहिलो चरणको काम सम्पन्न गरेर साधारणसभा गर्ने र त्यसपछि पुनः सय दिने अभियानलाई निरन्तरता दिने प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरले बताए । नेपाल प्रेस युनियन बागलुङ अध्यक्ष संगम घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सुवास आचार्य र सञ्चालन सचिव डम्मर बुढामगरले गरेका थिए । 

प्रतिक्रिया