सत्तारुढ गठबन्धनका दलहरु बिच बागलुङमा छलफल

  • माघ २७, २०७८

बागलुङ- सत्तारुढ गठबन्धन दलहरुले आसन्न स्थानीय तह चुनावमा मिलेर जाने विषयमा छलफल र गृहकार्य अघि बढाएका छन् । आज पाँच दलीय गठबन्धनका जिल्ला तहका प्रमुख नेताहरुबीच चुनावी सहकार्यबारे प्रारम्भिक कुराकानी भएको हो ।  गठबन्धनलाई वडा तहसम्म व्यवस्थित गर्ने, आपसी विश्वास र समझदारी विकास गर्दै चुनावसम्मै मिलेर जाने विषयमा सकारात्मक छलफल भएको गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली काँग्रेसका जिल्ला सभापति जीतबहादुर शेरचनले  बताए । 

“स्थानीय परिस्थिति र अनुकुलतामा गठबन्धलाई कसरी मजबुत पार्ने र चुनावसम्मै लिएर जाने विषयमा सौहार्द ढङ्गले कुराकानी भयो, छलफललाई फेरि निरन्तरता दिने गरी हामी उठ्यौँ”, शेरचनले भने । बागलुङ जिल्ला पाँच दलबिच धेरै ठाउँमा प्रतिस्पर्धा पनि भएकोले यस विषयमा पार्टीभित्र गहन छलफल आवश्यक भएकोले अहिले नै केहि भन्न नसकिने शेरचनले बताए । 

शेरचनले प्रदेश तहमा पनि गठबन्धन दलबीच चुनावलक्षित छलफल सुरु भएको स्थितिमा जिल्लामा पनि त्यसको गृहकार्य अघि बढेको उल्लेख गरे । नेपाल रेडक्रस सोसाईटी लगायत सङ्घसंस्थाका चुनावमा पनि सत्ता गठबन्धन दलबीच सहकार्य गरेर जानुपर्नेमा नेताहरुले जोड दिएका थिए ।

छलफलमा सहभागी गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले स्थानीय तहको चुनाव घोषण भएको स्थितिमा जिल्लास्तरमा गठबन्धनलाई कसरी बलियो बनाएर अगाडि बढाउने भन्ने विषयमा कुराकानी भएको  बताए । 

“नेताहरुबीच गठबन्धनका सन्दर्भमा अनुभव आदानप्रदान भयो, एक किसिमको समीक्षा जस्तो पनि भयो”, उनले भने, “ठ्याक्कै ठोस मुद्दामा छलफल प्रवेश त गरेको छैन, तरपनि गठबन्धन दलका नेताबीचको भेटघाटले सकारात्मक सन्देश दिएको छ, यसले अरु जिल्लालाई पनि प्रेरित गर्छ ।”

”केन्द्रमा पाँच दलीय गठबन्धन कायमै रहेर चुनावी समीकरण बनेमा त्यसलाई जिल्लामा पनि लागू गरेर जानुपर्ने उहाँको भनाइ छ । स्थानीय तहलगाएत सबै तहको निर्वाचन र संघसंस्थाहरुको निर्वाचन बारेमा छलफल भएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले बताए ।”

”बैठकले निर्वाचनमा गठबन्धनलाई बलियो बनाएर लैजाने विषयमा गहन विचार विमर्श भएको र थप छलफलको आवश्यक भएकोले पार्टी भित्र र गठबन्धनभित्र गृहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ” थापाले भने ।

”एमसिसी बारे केन्द्रमा कसरी निकास निसक्छ त्यसमा पनि सबै चिज भर पर्ने” थापाले भने । ”गठबन्धनलाई शक्तिशाली बनाएर जनताको हितमा केन्द्रीत हुने गरी पाँच दलीय गठबन्धनलाई अगाडि बढाउने विषयमा बैठकमा गम्भिर छलफल भएको छ” नेकपा एकीकृत समाजवादी अध्यक्ष लालबहादुर थापाले भने । “त्यसको लागि अब गठबन्धनविच सबै विषयमा खुल्ला बहस हुने” थापाले बताए ।रेडक्रस, नगर खानेपानी र बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन नजिकै आउँदा दलहरुको नेताहरु आपसि छलफलमा जुट्न थालेका छन् ।

छलफलमा जनता समाजवादी पार्टीका अध्यक्ष बाबुकाजी केसी सहभागी थिए ।स्थानीय तहको चुनाव घोषणसँगै दलहरु तात्न थालेका छन् ।नेकपा एमाले बागलुङले पनि चुनाव केन्द्रित अभियान सञ्चालन गरिने जनाएको छ ।

नेकपा एमालेले पनि चुनावलाई लक्ष्य गरी आउँदो फागुन भित्रमा प्रदेश निर्वाचन क्षेत्र स्तरमा जनप्रतिनिधिहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गणेश पौडेल ‘चन्द्र’ले जानकारी दिए । 

प्रतिक्रिया