बालिका अपहरणको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी जवान सहित एक महिला बालिका अपहरण प्रयासको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका काम गर्दै आएका प्रहरी जवान शंकर आचार्य र जिल्लाको जैमिनी नगरपालिका–७ जैदीकी ३६ बर्षी भगवती क्षेत्रीलाई बागलुङ बजारमा नियन्त्रणमा लिईएको हो ।
धादिङ जिल्ला स्थायी घर भई बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा बस्दै आएकी सपना थापाकी ६ वर्षीया छोरी सुहाना तामाङलाई अपहरण गर्ने खोजेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा बालिकालाई गाडीमा राखेर उनका बाबा पसलमा गएको बेला प्रहरी जवान आचार्य र ति महिलाले बालिबालाई ललाईफकाई बुद्ध विहार तिर लैजाँदै गरेका थिए । स्थानीयले र प्रहरीले उनीहरुलाई रोकेका थिए । दुबै जना मदिराले लठ्एिका थिए । उनीहरुसँगै अर्का एक प्रहरी जवान समेत सँगै थिए ।
पक्राउ परेका दुवै जनाको स्वास्थ्य परीक्षण पछि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुले बालिका रोइकराई गरेपछि स्थानीयले सोधपुछ गर्दा तथानाम गालीगलौज समेत गरेको आरोप छ ।
बालिकाकी आमा सपना थापाले प्रहरीबाटै नागरिक सुरक्षित नभएको बताइन् । उनले आफू कार्यालयमै रहेको र श्रीमान तरकारी लिन गएको समयमा प्रहरी र महिला मिलेर आफ्नो छोरी अपहरण गर्न खोजेको बताइन् । स्थानीयले नभेटको भए आफ्नो छोरीलाई जे पनि हुन सक्ने भन्दै कडा कारबाहीको माग गरिन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले अपरहण होइन भन्ने विषयमा अनुसन्धान सुरु भएको र मदिरा सेवन गरेका प्रहरी जवानलाई समेत कारबाही गर्ने बताए । ‘हामिले सबै हिसावले खोजी सुरु गरेका छौं, आज बालिकाका बाबु आमा सहित बसेर छलफल गर्दै छौं’ उनले भने ।