बागलुङको जैमिनी नगरपालिकाले सेवा प्रवाहमा सहजताका लागि नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ । नवनिर्वाचित नगर प्रमुख नरबहादुर पुनले शुक्रबार पदबहाली गर्दै तत्काल नागरिक सहायता कक्ष निर्माण गर्ने बताए ।
नगरले प्रबाह गर्ने सेवामा नागरिकले सास्ती खेप्नुपरेको भन्दै नगरप्रमुख पुनले सहज सेवा प्रवाहका लागि सहायता कक्ष निर्माण गर्ने पहिलो निर्णय गरेको बताए । नगरभित्रै बन्ने नागरिक सहायता कक्षबाट सर्वसाधारणलाई काम गर्न सहयोग पुग्ने उनले बताए । जैमिनीले योजनाको अनुगमनलाई चुस्त बनाउने निर्णय समेत गरेको छ ।
हालम्म भए गरेका कामको निरीक्षण मात्रै गरेर सिफारीस गर्ने काम भैरहेको भन्दै योजनाको प्रभाव, वातावरण र जमिनमा पर्ने असर, योजनाका कारण सिर्जना भएको रोजगारी र त्यसको उपयोगिता लगायतका बिषयमा समेत अनुगमन प्रतिवेदन तयार गर्ने निर्णय भएको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । शुक्रबार बिहानै नगर प्रमुख पुन र उपप्रमुख शर्माले पदबहाली गरेका थिए । पदबहालीसँगै आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेट बनाउने काम सुरु भएको छ ।