बागलुङ -अविरल वर्षाका कारण सडक माथिबाट आएको लेदो सहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग बागलुङ खण्ड अवरोध भएको छ । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटी झाँक्रीस्थानमा सडक माथिदेखि पहिरो खस्दा अवरुद्ध भएको हो । सडकमा लेदोसहितको पहिरो आउँदा गए रातीदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहारी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए । पहिरो हटाएर सडक खुलाउने प्रयास गरिए पनि केही समय लाग्ने उनले बताए ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङसहित पूर्वी रुकुम, पश्चिम रुकुम र जाजरकोटदेखि पोखरा काठमाडौँ जाने यातायातका साधन ठप्प भएका छन । पहिरोकै कारण काठामाडौँदेखि आएका रात्री बससमेत रोकिदा यात्रु अलपत्र परेको सूचना अधिकारी यादवले दिए । वर्षा निरन्तर भएका कारण सडक सुचारु गर्न कठिनाई भएको छ ।
पहिरोकै कारण कालिगण्डकी करिडोर पनि ५ दिन देखी अवरुद्ध भएको छ । बागलुङ नगरपालिका—१० भकुण्डे दब्ल्याङको पहिरोका कारण करिडोर सँगै दक्षिण बागलुङ जोड्ने अन्य सडक पनि अवरुद्ध भएका छ । पहिरोले करिडोरको सवै सडक बगाएको कारण ज्ञाविन जाली लगाएर सडक सुचारु गर्न खोलिएको तर पुन वर्षाका कारण कठिनाई भएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिए ।