लायन्स क्लब अफ बागलुङ पिस टाउनको आयोजनामा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित कुँडुले माध्यमिक विद्यालयमा सम्पन्न शिविरमा १५० जनाले सेवा लिएका थिए ।
“स्वस्थ दाँत, स्वस्थ मुस्कान र स्वस्थ जीवन” भन्ने नारासहित आयोजित शिविरबाट बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा स्थानीय समुदायका नागरिक लाभान्वित भएका छन्। शिविरले समुदायमा दन्त स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
शिविरमा बागलुङ नगरपालिका २ धौलागिरि चोकस्थित अशोक डेन्टलकी दन्त चिकित्सक डा कल्पना लिम्बु, बागलुङ नगरपालिका–४ मा रहेको शहरी स्वास्थ्य केन्द्रका प्रमुख धना थापा र स्वास्थ्यकर्मीहरु किरण रेग्मी, सरिता खड्काले लगायतका स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ बागलुङ पिस टाउनकी संस्थापक अध्यक्ष सनिशा घर्ती, बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, कुँडुले माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्य तथा लियो क्लब अफ बागलुङ कालिकाका पूर्वअध्यक्ष किरण रेग्मीले मन्तव्य व्यक्त गरेका थिए।
लायन्स क्लब अफ बागलुङ पिस टाउनकी अध्यक्ष एलिजा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष शारदा कार्कीले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव ज्योति केसी विष्टले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
आयोजकका अनुसार यस्ता स्वास्थ्यसम्बन्धी सामाजिक कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति जागरण फैलाउनुका साथै नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।