बागलुङ- नेपाल रेडक्रस सोसाईटी बागलुङको ३५औँ जिल्ला सभाको अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाट गर्दै बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले अहिले विश्वमा र हाम्रो समाजमा मानवताको लागि निष्पक्ष र तटस्थ रुपमा सेवा गर्ने पवित्र भावना भएका नागरिकको खाँचो बढेर गएको बताए । उनले रेडक्रस जस्तो सामाजिक क्षेत्रमा पनि केही राजनितिक स्वार्थ हुन नहुने बताए । श्रेष्ठले मानव सेवामा इतिहास रचेको नेपाल रेडक्रसले आफनो गरिमा उचो राख्ने गरी यसको संस्थागत विकास गर्न र नयाँ पुस्तालाई यो अभियानमा जोड्न आवश्यक रहेको बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख होमनाथ सापकोटा, नेपाल रेडक्रस सोसाईटी बागलुङका पूर्वसभापतिहरु विश्वनाथ रेग्मी, जब्बरबहादुर लामिछाने, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, कालिगण्डकी आवासिय माविकी जुनियर युवा रेडक्रसकी अध्यक्ष संगम क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मालिका उपशाखा, बुर्तिबाङ उपशाखा, हटिया उपशाखा, ताराखोला उपशाखा, पैयुँपाटा उपशाखा, ग्वालीचौर उपशाखा, भीमगिठे उपशाखा, राजकुत उपशाखा, रामरेखा उपशाखा र काँडेबास उपशाखा सम्मानित भएका थिए ।
साथै कार्यक्रममा उत्कृष्ट कार्य गर्ने जुनियर युवा रेडक्रस अन्तर्गत चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ, धौलागिरि वीरेन्द्र मावि, कालिगण्डकी आवासिय मावि, गणेश मावि, युएस एकेडेमी, फ्युचर ब्राइटर आवासिय माध्यमिक विद्यालय, न्यू ओएसिस एकेडेमी, न्यू एभरेष्ट एकेडेमी र गुराँस विद्या सदन सम्मानित भएका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बागलुङका मन्त्री भुवानी प्रसाद शर्मा कँडे्लले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन एवंम २०८१ /०८२को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष जीवननाथ शर्मा रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जगन्नाथ आचार्यको अध्यक्षता, महिला उपसभापति सीता शर्माको स्वागत, उपसभापति राजेन्द्र आचार्यको धन्यवाद र मन्त्री भुवानी प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।