काठमाडौ- जतिबेला मुलुकमा तत्कालीन राजा ज्ञानेन्द्रले निरंकुश शासन सुरु गरेपछि संवैधानिक राजतन्त्र कि गणतन्त्र ? भन्ने बहस सुरू भयो त्यतिबेला राजधानीमा विद्यार्थी नेताहरूको एउटा समूह अब राजसंस्था किन चाहिँदैन ? भन्ने बहस गर्दै थियो । शीर्ष दलका नेताहरू संसद्को पुनःस्थापना गरी पुरानै संविधानको निरन्तरता वा राजसंस्थाविहीन लोकतान्त्रिक शासन व्यवस्था भन्नेमा अलमलिएका थिए ।
मुलुकको ठूलो दल नेपाली कांग्रेस न राजसंस्थाका पक्षमा अडिग थियो, न गणतन्त्रका पक्षमा प्रस्ट । तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला राजसंस्थाविरुद्व वारपार चाहन्थे । तर, असफल प्रयासको मौका देखेका थिएनन् ।
त्यही बेला कृष्ण पहाडी, देवेन्द्रराज पाण्डे लगायतले नागरिक आन्दोलन थाले । हजारौँ युवा र विद्यार्थी सडकमा उत्रिए अनि राजसंस्थाविरुद्व बहसमा रहेका २५/२६ वर्षे ठिटाहरूको समूह समर्थनमा । देशभर राजतन्त्रकाविरुद्ध जनमत बन्दै गरेको त्यो बेला दलहरूले ‘पूर्ण प्रजातन्त्र’को नारा अघि सारे । सडकमा राजसंस्थाविरोधी नारा घन्कियो । युवा विद्यार्थी आन्दोलन चर्कियो । युवा, विद्यार्थीसहितको नागरिक आन्दोलनको दबाब बढ्दै थियो । सशस्त्र द्वन्द्वरत माओवादीले शान्तिपूर्ण लोकतान्त्रिक राजनीति रोज्यो भने कांग्रेसले गणतन्त्रको बाटो ।
त्यही आन्दोलनको जगमा १९ दिने जनआन्दोलनले राजसंस्थालाई घुँडा टेकायो । संसद्को पुन:स्थापना भयो, र अन्तरिम संविधान जारी भयो । राजसंस्था फाल्ने र मुलुकलाई गणतन्त्रको बाटोमा अघि बढाउने त्यो आन्दोलनको अग्र पंक्तिमा थिए, विद्यार्थी नेता गगन थापा ।
नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष र महामन्त्री भइसकेका थापालाई त्यही आन्दोलनले राष्ट्रिय राजनीतिको उदाउँदो अनुहारका रुपमा परिचित गरायो । त्यसो त त्रि-चन्द्र कलेजको स्ववियू सदस्य, सचिव र सभापति हुँदा थापाले काठमाडौंका सडकमा देखाएको विद्यार्थी जोस् कम आशालाग्दो थिएन ।
०६४ सालको संविधानसभा निर्वाचनमा थापाले प्रत्यक्षतर्फ चुनाव लड्ने अपेक्षा थियो, तर उनले प्रत्यक्षतर्फ टिकट पाएनन् । गणतान्त्रिक आन्दोलनको फ्रन्टलाइनरलाई नै उम्मेदवार नबनाएको आलोचना भएपछि कांग्रेसले उनलाई समानुपातिकतर्फ उम्मेदवार बनायो, उनी ३१ वर्षमै संविधानसभा प्रवेश गरे ।
संसद्मा उनको प्रभावकारी उपस्थितिकै कारण उनको चर्चा थप चुलियो, कांग्रेसमा उनी उदयमान नेताको रुपमा सबैको नजरमा परे । ०६७ मा भएको १२ औँ महाधिवेशनबाट उनी सर्वाधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित भए । त्यसको दस वर्षपछि फेरि उनी सर्वाधिक करिब दुईतिहाई ३०२३ मतसहित महामन्त्रीमा निर्वाचित भएका छन् ।
कांग्रेसका संस्थापक बीपी कोइरालाले ३३ वर्षकै उमेरमा कलिलो कांग्रेसको नेतृत्व गरे । ००५ सालमा सभापति बनेका मातृकाप्रसाद कोइराला ३७ वर्षका थिए, सुवर्ण शमशेरले ४५ वर्षमा पार्टीको नेतृत्व गरे । त्यसपछि कांग्रेस जति बुढो हुँदै गयो, नेतृत्व त्यति नै बूढा उमेरका । किसुनजीले ६७ वर्षको उमेरमा पार्टी चलाए, गिरिजाबाबुले ७६ वर्षको उमेरमा । अहिले साढे सात दशक पुरानो कांग्रेसको नेतृत्वमा त्यही हाराहारी उमेरका बुढा नेता होडबाजी गरिरहेका छन् । यसपटक सभापतिका प्रत्यासी शेखर कोइराला ७१ वर्षे थिए, दोस्रोपटक निर्वाचित शेरबहादुर देउवा ७५ वर्षे हुन् ।
पार्टीको नेतृत्वमा बाबु पुस्ता लडिरहेका बेला नेता थापाले ४५ वर्षमै महामन्त्री बनेर पार्टीमा पुस्तान्तरणको बलियो सन्देश दिएका छन् । थापाले पार्टी राजनीतिमा आएको १० वर्षमै सभापतिपछिको शक्तिशाली महामन्त्री बनेर छलाङ मारेका छन् ।
पहिलो संविधानसभामा ३१ वर्षकै उमेरमा सांसद बनेका थापाले ३४ वर्षमै केन्द्रीय सदस्य जिते । ०७० र ०७४ को आमनिर्वाचनमा काठमाडौं–४ बाट प्रत्यक्ष निर्वाचित थापा पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन् ।
थापाले १३ औँ महाधिवेशनमै पार्टीमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको मुद्दा उठाए । महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका उनले शक्तिशाली गुटबाट टिकट पाएनन्, र अन्तिम समयमा नेता कृष्णप्रसाद सिटौलालाई रोजे ।
पार्टीमा परिवर्तन र पुस्तान्तरण चाहेर जोखिम मोलेका उनले चुनाव त जितेनन् नै । तर, चर्चाका हिसाबले महाधिवेशनको केन्द्रमा उनी नै रहे । त्यसबेला उनले ५८५ मत पाएका थिए । १३ औँ महाधिवेशनपछि थापाको देश दौडाहा चल्यो । सिटौलाकै सिफारिसमा स्वास्थ्यमन्त्री बनेका उनले छोटो समयमा केही उल्लेख्य काम गरे । ०७४ को आमनिर्वाचनपछि संसद्को प्रतिपक्षी भूमिकामा उनी खरो उत्रिए । अहिलेसम्म उनले यी पाँच वर्षमा आफू र आफ्ना एजेन्डालाई यसरी प्रचार गरे, कि १४ औँ महाधिवेशनमा उनी महामन्त्रीका निर्विकल्प उम्मेदवार बन्न पुगे ।
गगनको सफलताकाबारे उनीनिकटहरू भन्छन्, ‘टिममा काम गर्ने, सबैको सल्लाह लिएर आफूले निर्णय गर्न सक्ने क्षमता मुख्य कारण हो ।’ थापामाथि अवसरवादीको आलोचनात्मक ‘ट्याग’ पनि लाग्ने गरेको छ । ‘परिस्थिति हेर्ने, र आफ्नो सहजता हेरेर निर्णय गर्ने उनको शैलीले त्यस्तो आरोप लगोको पनि हुनसक्छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने थापालाई पब्लिकमाझ लोकप्रिय बनेर उदाएको नेता भन्छन् । ‘अब नेतृत्व विकास पार्टीभित्र बाट मात्रै होइन, पब्लिकबाट निस्किने हुन्छ । जो पब्लिकमाझ लोकप्रिय हुन्छ, उसले पार्टीमा पनि त्यस्तै लोकप्रियता बनाउन सक्छ,’ उनी भन्छन्, ‘अहिले गगन थापा त्यसैगरी पब्लिकबाट पार्टीमा छाएका नेता हुन् ।’
त्यसो त थापाले यो दशकमा पटक–पटक गुट अदलबदल गरिसकेका छन् । १३ औँ महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट टाढिएर कृष्णप्रसाद सिटौलाको नेतृत्वमा महामन्त्री लडेका थापाले यसपटक शेखर कोइरालाको नेतृत्व रोजे । विद्यार्थी राजनीतिमा पनि उनी कहिले विश्वप्रकाश शर्मासँग नजिकिए, कहिले गोविन्दराज भट्टराईसँग ।
यसपटक भने पार्टीभित्र उनको लोकप्रियता गुटभन्दा फराकिलो बनेको छ । उनले पाँच प्रतिस्पर्धीलाई पछि पार्दै महामन्त्रीमा ३०२३ मत पाएका छन् ।
राजनीतिक विश्लेषक आचार्य यो महाधिवेशनले कांग्रेसमा युवाको हस्तक्षेपकारी भूमिका बढाएको बताउँछन् । ‘युवाको हस्तक्षेपकारी भूमिका बढ्नुपर्छ भन्ने दबाब थियो । गगन र विश्वप्रकाश त्यस्तै युवा गिरोहका नेता हुन्,’ उनले भने, ‘सभापतिजी पार्टीभित्रको लोकप्रियताले आउनुभयो, गगन र विश्वप्रकाश पार्टीभित्र र बाहिर दुवै लोकप्रियताले आएका हुन् ।’
उनले कांग्रेस अब बुढाहरूको मात्रै पार्टी नरहेको बताए । ‘कांग्रेस अब बुढाहरूको पार्टी रहेन । अब युवाहरूको पार्टी बनाउनुपर्छ भनेर महाधिवेशनका प्रतिनिधिहरूले गगन थापा र विश्वप्रकाश शर्मालाई रोजे, अर्को कुरा महाधिवेशनमा युवा नै धेरै थिए, उनीहरुले युवा अनुहार रोजे,’ उनले इकान्तिपुरसँग भने ।