राष्ट्रपति भण्डारीद्वारा ढोरपाटनको अवलोकन

  • कार्तिक १३, २०७८

बागलुङ– राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष बागलुङ क्षेत्रको अवलोकन भ्रमण गरेकी छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो १२ः४० बजे ढोरपाटन आइपुगेकी भण्डारीले आरक्ष कार्यालयको निरीक्षण समेत गरेकी हुन् ।
निरीक्षण पछि राष्ट्रपति समक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा स्थितिबारे प्रस्तुतीकरण गरेका थिए ।
राष्ट्रपति भण्डारीले आरक्षमा रहेका संग्राहलयका साथै ढोरपाटन उपत्यकाको दृश्यावलोकन गरेको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी आरक्ष क्षेत्रमा सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।
राष्ट्रपति भ्रमणमा आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुख लगायत सरकारी निकायका पदाधिकारी शुक्रबार नै ढोरपाटन पुगेका थिए । सिकार पर्यटनका लागि विश्वकै प्रख्यात ढोरपाटन सिकार आरक्षमा अहिले पहिलो चरणको सिकार याम चलेको छ । सिकारका लागि विभिन्न देशबाट सिकारीहरु ढोरपाटन आएका छन । 
सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ ।

पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ । राष्ट्रपतिको भ्रमणले ढोरपाटन क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
 

प्रतिक्रिया