बागलुङ, -एम्नेष्टि इन्टरनेशनल नेपाल समूह–४८ बागलुङको ३४औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। समूहका संयोजक बलराम रिजालको अध्यक्षता तथा पूर्व संयोजक श्रीकृष्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव सचिन हरिजनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रगति प्रतिवेदनअनुसार समूहले गत वर्ष चार वटा कार्यसमिति बैठक सम्पन्न गरेको छ भने ३९ जना सदस्यको सदस्यता नवीकरण गरेको छ। विद्यालय तथा समुदायमा सञ्चालन गरिएको मानव अधिकार शिक्षा अभियानमार्फत करिब ४०० जनालाई मानव अधिकारसम्बन्धी सचेतना प्रदान गरिएको जनाएको छ।
समूहले मृत्युदण्ड उन्मूलन, सुरक्षित गर्भपतनको अधिकार, जबर्जस्ती निष्कासनका घटना, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अधिकार, महिला तथा बालअधिकारलगायतका विषयमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। मानव अधिकारका विषयमा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्दै नागरिकलाई आफ्नो अधिकार र कर्तव्यप्रति जिम्मेवार बनाउन यस्ता कार्यक्रम प्रभावकारी भएको समूहको निष्कर्ष छ।
कार्यक्रममा पौडेलले मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि राज्य, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए। उनले लोकतान्त्रिक समाज निर्माणका लागि मानव अधिकारको सम्मान र कानुनी शासनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गरे।
अध्यक्ष बलराम रिजालले आगामी दिनमा मानव अधिकार शिक्षा अभियानलाई अझ प्रभावकारी बनाउँदै स्थानीय तहसँग सहकार्य विस्तार गर्ने, सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने, सदस्यता विस्तार अभियान सञ्चालन गर्ने तथा मानव अधिकारसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई थप सशक्त रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
साधारण सभाले सचिवको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजनालाई सर्वसम्मत रूपमा पारित गरेको छ। साथै मानव अधिकारको संरक्षण, प्रवर्द्धन र समुदायस्तरमा सचेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ। कार्यक्रमको सञ्चालन सहसचिव छाँयादत्त चापागाईंले गरेका थिए।