बागलुङ - बागलुङका महिलाहरुका लागि सशक्तिकरण र नेतृत्व विकासका कार्यक्रम संचालन गरिएको छ । बागलुङ नगरपालिका र सहयात्रा बागलुङको साझेदारीमा वडा तहमा सक्रिय महिलाहरुका लागि सशक्तिकरण तथा नेतृत्व विकास कार्यक्रम संचालन गरिएको हो । महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले गाउँ टोलमा नै नेतृत्व विकासका कार्यक्रम संचालन गरिएको हो ।
हरेक क्षेत्रमा महिलाको अनिवार्य सहभागीता भै रहँदा उनिहरुको उपस्थितमा आफ्ना कुराहरु राख्ने क्षमतामा अझै पनि विकास हुन नसकेको हुँदा महिलाले आफ्नो दरिलो उपस्थिति जनाउन सक्ने गराउनका निम्ती नेतृत्व विकासका कार्यक्रम संचालन गरिएको सहयात्रा बागलुङका अध्यक्ष शकुन्तला शर्माले बताईन । शर्माका अनुसार कार्यक्रममा महिला सशक्तिकरण, नेतृत्व विकास, कानुनी सचेतना साथै नगरपालिका र वडा तहबाट प्रवाह हुने सेवा सुविधाका बारेमा जानकारी गराउनुका साथै उनिहरुका समस्याका बारेमा छलफल गरिएको थियो ।
‘महिलाहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व हुन्छ ।, आफ्नो प्रतिनिधित्व हुँदै गर्दा भुमिका के हुन्छ त्यो अझै अन्यौलमा पनि छन अध्यक्ष शर्माले भनिन्—‘महिलाले आफ्नो उपस्थितिलाई दरिलो बनाउन, उनिहरु अझै सशक्त बनुन र उपस्थिति पनि अर्थपुर्ण गराउने क्षमता राख्न सक्ने बनाउनका निम्ती नेतृत्व विकासको कार्यक्रम संचालन गरिएको हो ।’ उनले लैगिंक विभेद, महिला अधिकार, मानव अधिकार, घरेलु हिंसा, द्वन्द्व व्यवस्थापन लगायतका बिषयमा पनि महिलाहरुलाई जानकारी गराउने बताईन । शनिबार बागलुङ नगरपालिका—१३ पैयुँपाटामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले अगुवा महिलाहरुको क्षमता विकास गरी समुन्नत समाज निर्माणमा महिलाको भुमिकालाई दरिलो बनाउने अभियानमा नगरपालिका रहेको बताए । उनले महिलाहरु आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा अझै ससक्त ढंगले अगाडी बढ्नका लागि नेतृत्व विकास हुन जरुरी रहेको बताए ।
महिला सवल नभए परिवार र समाज नै कमजोर हुने हुँदा महिलाहरुको नेतृत्व विकासमा हरेक तहले जोड दिनुपर्ने उनले बताए । ‘महिला शक्ति कमजोर हुनु भनेको समाजका सवै क्षेत्र कमजोर हुनु हो नगरप्रमुख श्रेष्ठले भने,—‘विगतका रुढीवादी मानसिकतालाई बदलेर महिलाको सवल नेतृत्व विकासमा जोड दिनु पर्छ, महिला र पुरुषको सहकार्य विना समाज विकासको कल्पाना समेत गर्न सकिँदैन, सवै समान हो भनेर नेतृत्व विकासमा अगाडी बढ्नुपर्दछ ।’ उनले हरेक क्षेत्रमा महिलाको अनिवार्य उपस्थिति भएको हुँदा सकारात्मक भुमिका निर्वाह गरी समाजको विकासमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा महिला सञ्जालमा नेतृत्व गर्ने महिलाहरु, महिला जनप्रतिनिधि, टोलसुधार समिति र विद्यालय व्यवस्थापन समितिमा आवद्ध महिलाहरु र दलित तथा विपन्न समुदायका महिलाहरुको सहभागिता थियो ।
कार्यक्रमा बागलुङ नगरपालिकाका—१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, वडा नं. ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, महिला नेतृ कल्पना हमाल पाठक, स्थानिय समाजसेवी चन्द्रबहादुर खत्री, डा. रामबहादुर केसी, रेशम बहादुर खत्री लगायतले महिलाहरुको नेतृत्व विकास आजको आवश्यकता रहेको बताएका थिए ।
७५ जना महिला सहभागी रहेको कार्यक्रमको सहजीकरण अधिवत्ता गिता श्रीष, बागलुङ नगरपालिकाका महिला विकास निरिक्षक रचना आचार्य, सहयात्रा बागलुङका अध्यक्ष शुकन्तला शर्मा र सचिव हुमा रिजालले गरेका थिए ।
अध्यक्ष शकुन्तला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य शर्मिला चर्मकारले स्वागत र सचिव हुमा रिजालले संचालन गरेका थिए ।