क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न

  • भदौ २२, २०८२

बागलुङ- जिल्ला क्रिकेट संघ बागलुङको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दे नगर खेलकुद विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलले जिल्लामा क्रिकेट खेलको विकास हुँदै गएको बताए । उनले प्रचार प्रसारका लागि सबै तहबाट सहकार्य गर्नुपर्नेमा जोड दिए । 
बोसेलले विद्यालयस्तरमै क्रिकेटलाई प्रोत्साहन गरेर मात्र सक्षम खेलाडी तयार गर्न सकिने भन्दै खेल पूर्वाधार विस्तार र अवसर प्रदानमा नगर खेलकुद विकास समितिको सक्रिय भूमिका रहने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले खेलाडीहरूको मेहनत र लगनलाई उचित पहिचान दिलाउन सञ्चारकर्मीहरू सधैं सकारात्मक साथमा रहने बताए । संघका सल्लाहकार विजय राज पन्तले जिल्लामा क्रिकेटलाई अझ व्यवस्थित बनाउन नेतृत्व तहमा पारदर्शिता र जिम्मेवारी महत्वपूर्ण हुने विचार व्यक्त गरेका थिए ।
साधारणसभाको बन्द सत्रमा कोषाध्यक्ष सन्तोष शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने सचिव फरिन्द्र बहादुर खड्काले वार्षिक प्रतिवेदन र आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संघका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संघका उपाध्यक्ष कमलराज पन्त र सञ्चालन सदस्य अभिषेक कटवालले गरेका थिए । सो अवसरमा पूर्व खेलाडी रिम थापा र मिलन थापा, वर्ष उदयमान खेलाडी रमित कँडेल तथा वर्ष खेलाडी अश्विन थापालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया