देशको राजनीतिक गतिविधि प्रचण्डकै नेतृत्वमा घुम्छ - मन्त्री पौडेल

  • कार्तिक १७, २०७८

बागलुङ-  नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशको राजनीतिक गतिविधि प्रचण्डकै नेतृत्वमा घुम्ने  बताएका छन । मंगलबारै प्रेस सेन्टर नेपाल, बागलुङको पाँचौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै पौडेलले गणतन्त्र, समावेशी, समृद्धि र उज्यालो नेपाल बनाउने अभिभारा आफ्नो दलले पूरा गर्ने दाबी गर्दै। उनले प्रचण्डकै नेतृत्वमा नेपालको विकास हुने  र अब आफ्नो  दल नेकपा माओबादी पहिलो हुने बताएका थिए ।
उनले सेन्टर पनि भातृ संगठन भएकोले पहिलो बन्ने प्रयासमा लाग्नुपर्ने भन्दै सरकार प्रेस स्वतन्त्रताको पक्षमा लाग्नेसमेत बताए । देशको चुनौतीपूर्ण अवस्थालाई चिर्न माओवादीको नेतृत्व चाहिएको उनको भनाइ थियो । प्रतिगमनकारी कदमविरुद्धमा हिजो, आज र भोलिसम्म लड्ने शक्तिसमेत माओवादी भएको भन्दै त्यसका भातृ संगठनहरुपनि सशक्त बन्नुपर्ने धारणा राखे ।

मन्त्री पौडेलले विद्यार्थी र शिक्षक अनुपात मिलाउन दरबन्दी मिलान गर्ने बताएका छन् । छिटफुट रुपमा चलेको कार्यक्रमलाई प्रभावकारी बनाएर शिक्षा क्षेत्रमा गुणस्तर विकाससमेत गर्ने बताए ।
मंगलबार नै शिक्षा बिकास तथा समन्वय इकाई बागलुङमा आयोजित अन्तरक्रियामा बोल्दै पौडेलले विद्यालयका लागि दरबन्दी मिलान र विद्यार्थीका लािग पढ्दै, कमाउँदै कार्यक्रम सञ्चालन गर्ने बताएका हुन । उनले कक्षा ११ र १२ मा विद्यार्थीलाई विद्यालयमै रोजगारी दिने व्यवस्था गर्न लागेको पौडेलले बताए । ‘हरेक विद्यार्थीलाई पढाइ खर्च चल्ने गरी रोजगारीको सिर्जना गरिनेछ,’ उनले भने, ‘त्यसका लािग विद्यालयमै प्राविधिक विषयको अध्ययन अध्यापन हुनेछ ।’ विद्यालयमा अन्य कर्मचारी राखेर गर्ने काम विद्यार्थीले गरेर कमाउने र पढ्ने अवसर पाउने गरी कोर्ष तथा कार्यक्रम डिजाइन गर्न लागेको उनले खुलासा गरे ।
एक निर्वाचन क्षेत्रको एक नमुना विद्यालयलाई पनि गुणस्तरीय बनाएर शिक्षा क्षेत्रको स्तर विकास गर्ने उनले बताए । इकाइ प्रमुख कुश्मराज उपाध्यायका अनुसार अहिले शिक्षा क्षेत्रमा ६० प्रतिशतमात्रै गुणस्तर कायम रहेको अनुमान छ ।
मन्त्री पौडेलले यो स्तरलाई कम्तिमा ८० देखि ८५ प्रतिशतमा लैजाने बताएका थिए । ‘भवन मात्र धेरै बनेका छन्, गुणस्तर सुधार भएको छैन भन्ने हामीले रिर्पोटिङ गरेका थियौं,’ उपाध्यायले भने, ‘अब गुणस्तरको कार्यक्रम बनाउन पहल गर्ने आश्वासन आएपछि हामीपनि खुसी भएका छौं ।’ संरचनागत परिवर्तनले बालबालिकाको पढाइमा पनि समस्या भएको उनले बताए । संरचनामा अन्योलताले लामो समयसम्म शिक्षा ऐन आउनसमेत ढिला भएको थियो ।
मंगलबारै धौलागिरि बहुमुखी क्याम्पसमा पनि आयोजित स्वागत समारोहमा शिक्षा मन्त्री पौडेलले आंगिक क्याम्पसको गुणस्तर सुधार्न पहल गर्ने बताए । ‘पछिल्लो समय सरकारी क्याम्पसमा विद्यार्थी घटेकोले बढाउने पहल पनि गर्नुपर्छ, त्यो गुणस्तरबाट सम्भव छ,’ उनले भने, ‘प्राध्यापकहरुले पनि आफ्नो म¥र्यादा राख्न शिक्षणमा ध्यान दिनुपर्ने अवस्था छ ।’ क्याम्पस राजनीतिको थलोमात्र नभई गुणस्तर सुधार गर्ने र अनुसन्धानको गन्तव्य बन्नुपर्ने उनले बताए ।

प्रतिक्रिया