बागलुङ- लायन्स क्लब अफ बागलुङ सिटिको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बागलुङ नगरपालिका १ रामरेखामा रहेको धौलागिरी बहिरा माध्यामिक विद्यालयमा अध्ययनर विद्यार्थीहरुको निःशुल्क आँखा परिक्षणका साथै चस्मा र औषधी वितरण गरिएको हो । क्लबका अध्यक्ष सन्ध्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष पार्वती अधिकारीले सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लबले हरेक क्षेत्रमा सहयोग गर्नुका साथै समाजका लागि उदाहरणीय काम गर्दै आएको बताईन । उनले बढ्दो मोबाइल फोनको प्रयोगसँगै सानै उमेरमा विद्यार्थीको आँखामा समस्या बढ्दै गएको हुँदा समय समयमा आँखा जाँचगर्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रेशमबहादुर श्रीसले विद्यार्थीको आँखाजाँचका लागि लायन्स क्लबले पुराएको सहयोगको प्रशंसा गर्दै आउँदा दिनमा पनि निरन्तर सहयोग गर्न आग्रह गरे ।
आँखा जाँचको प्राविधिक सहयोग सफल चस्मा घरका संचालक गणेश महतोले गरेका थिए । कार्यक्रम लायन्स क्लब अफ बागलुङ सिटीका सचिव लक्ष्मी लामिछानेले गरेकी थिईन ।
शिविरमा १५० जना विद्यार्थीको आँखा जाँच गरिएको छ भने, १२ जना विद्यार्थीमा आँखाको पावरमा समस्या देखिएको अध्यक्ष सन्ध्या श्रेष्ठ राजभण्डारीले जानकारी दिइन । शिविरमा सहभागी २ जना विद्यार्थीमा आँखा पाक्ने समस्या रहेको १२ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको छ ।