बागलुङ- बागलुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । जिल्ला खेलकुद विकास मिति बागलुङले बिहीबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ । यस पटक बागलुङका ८ वटा पालिकाले मात्रै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनेछन् ।
बागलुङको १० पालिकामध्ये तमानखोेला र ताराखोलाले पालिकास्तरीय प्रतियोगिता नै नगरेकाले जिल्लास्तरीय प्रतियोगितामा सहभागी नहुने जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कृष्णप्रसाद कँडेलले बताए । बाँकी ८ पालिका भने शुक्रबार बिहानसम्म बागलुङ बजार आईपुग्ने र ११ बजेटबाट बाङ्गेचौर खेल मैदानमा प्रतियोगिता सुरु हुने उनले जानकारी दिए । प्रतियोगितामा ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
जिल्लाभरका ८ सय बढि खेलाडी विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ । यस पटक प्रतियोगिता सञ्चालनका लागि बागलुङका स्थानीय तहबाट सहयोग रकम संकलन गरिएको छ । नगरपालिकाबाट ६० हजार र गाउँपालिकाबाट ४० हजारका दरले सहयोग मागेको र उक्त रकमबाट प्रतियोगिता सम्पन्न गर्ने कँडेलले बताए । पत्रकार सम्मेलनको सञ्चालन सचिव किशोर थापाले गरेका थिए ।