एमाले राप्रपाको घोषणाः पर्यटकीय, व्यापारिक एंव साँस्कृतिक बागलुङ नगर  

  • ब‌ैशाख १८, २०७९

बागलुङ -नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् । स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर अगाडी बढेका एमाले र राप्रपाले घोषणा पत्रमा ‘सम्वृद्ध बागलुङ नगर–सुखी नगरवासी’ नगरको आकांक्षा पुरा गर्नको लागि आगामी ५ वर्षमा बागलुङ नगरपालिकालाई पर्यटकीय, व्यापारिक एंव साँस्कृतिक नगरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएको छ । 
स्थानीय तह निर्वाचन २०७४ मा पनि एकसाथ निर्वाचनमा गएका एमाले राप्रपाले तालमेलको आधारमा उम्मेदवार उठाएकाले थिए । संयुक्त रुपमा मेयरको उम्मेदवार बनेका नेकपा एमालेका जनकराज पौडेल पुनः मेयरको उम्मेदवार बनेका छन् । स्थानीय तह निर्वाचन २०७४ मा राप्रपाले उपमेयरमा सुरेन्द्र खड्कालाई उम्मेदवार बनाएको थियो भने, अहिले राप्रपाको तर्फबाट सञ्जय खड्का उपमेयरको उम्मेदवार बनेका छन् । 
मेयरका उम्मेदवार जनकराज पौडेल, उपमेयरका उम्मेदवार सञ्जय खड्का, नेपका एमालेका पोलिट व्यूरो सदस्य मनकुमारी केसी, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज गोविन्द नेपालीले संयुक्त रुपमा सार्वजनिक गरेको घोषणा पत्रमा बागलुङ नगरपालिकामा एकीकृत शहरी विकास योजना लागु गरिने, नगरपालिकाको केन्द्र देखि वडाको केन्द्र सम्म जोड्न सुरु गरिएका सडकका योजना पुरा गरिने, बालबालिकाको लागि निर्माण सुरु गरिएको बालउद्यानलाई पूर्णता दिइने, बालबालिकाको शिक्षा, स्वास्थ्यलाई ध्यानमा राखेर चाइल्ड क्येर सेन्टर स्थापना गरिने, औधोगिक ग्राम सञ्चालनमा ल्याइने, काठेखोलामा जलविहार परियोजना सञ्चालनमा ल्याईने, जनमैत्री स्वास्थ्य निती अबलम्बन गरिने, धौलागिरी उप–प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नती गर्न पहल गरिने, गम्भिर प्रकृतिका रोगहरु(मुटु, मृगौला, क्यान्सर, पाठेघर)को उपचार नगरबाटै गर्ने व्यवस्था गरिने, विपन्न नागरिकको उपचार निशुल्क गर्ने व्यवस्था मिलाइने, ५० वर्षभन्दा माथिका नागरिकको वर्षमा एक पटक निशुल्क स्वास्थ्य परिक्षण गरिने उल्लेख गरिएको छ । 
घोषणा पत्रमा शिक्षा, सूचना र सञ्चारतर्फ व्यवसायिक, व्यवहारिक, रोजगारमूलक, प्रयोगात्मक, प्राविधिक शिक्षाको आधार तयार गरि लागु गरिने, आगामी ५ वर्षभित्र प्राविधिक धारतर्फको क्याम्पस स्थापनाको विषेश तयारी गरिने उल्लेख गरिएको छ । एमाले राप्रपाले आगामी ५ वर्ष भित्र बागलुङ नगरपालिकामा गर्ने कामलाई पूर्वाधार, स्वास्थ्य, सरसफाई तथा खानेपानी, शिक्षा, सूचना तथा सञ्चार युवा तथा खेलकुदतर्फ, पर्यटन, कृषि, सुशासन, सूचना तथा सञ्चार, विविधता लगाएतका शिर्षकमा छुट्टा छुट्टै प्रतिवद्धता व्यक्त गरेको छ । 
घोषणा पत्रमा ‘अन्याय र उत्पीडनको विरुद्ध हाम्रो अभियान, आवाजविहीनको आवाजलाई गर्छाै सम्मान’ भन्ने मूल नाराको साथ महिला हिंसा, छुवाछुत जन्य विभेद र सामाजिक विभेदलाई अन्तय गर्ने गरि काम गर्ने उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया