बागलुङ - गण्डकी प्रदेशका पूर्व साँंसद कृष्ण थापाले सर्वोच्च अदालतबाट आफुले न्याय पाउन नसकेको बताएका छन् । आईतबार पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिक दलको नेता र न्यायाधीश बीचको सेटिङको कारण आफुले सर्वोच्च अदालतबाट न्याय पाउन नसकेको बताएका छन् ।
‘नेता र सर्वोच्च अदालतका न्यायाधीश बीच सेटिङ छ, त्यहि सेटिङको कारण मैले न्याय पाउन सकेको छैन’ सर्वोच्च अदालत प्रति प्रश्न गर्दै थापाले भने–‘के मैले जस्तै आम नेपालीले सर्वोच्च अदालतबाट न्याय पाउँदैनन ?’ उनले अदालतको सेटिङको कारण सर्वसाधरण नागरिकले न्याय पाउन सम्भव नरहेको बताएका छन् ।
अदालत सेटिङमा चलिरहेको बताउँदै उनले कम्फर्टेबल र सेटिङ अदालतका पर्यायवाची भएको आरोप लगाए । उनले त्यसको उदाहरण आफै भएको बताएका छन् ।
बागलुङ निर्वाचन क्षेत्र न. १ (२)बाट निर्वाचित थापालाई डेढ बर्ष अघि सांसद पदबाट हटाईएको थियो । त्यस पछि थापाले पुर्नबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । पहिलो पटक उनलाई पुर्नबहालीको लागि अन्तरिम आदेश दिएको थियो । यद्धपी उनलाई फेरी दोस्रो पटक साँसद पदबाट हटाईएको थियो ।
पुनःन्यायको माग गर्दै सर्वोच्च अदालतमा पुगेका उनलाई दोस्रो पटक भने अन्तरिम आदेश दिईएन ।
दुई महिनासम्म पेशी सारे पनि अन्तरिम आदेश नदिई खारेज गरिएको थियो । सेटिङकै कारण अन्तरिम आदेशको रिट निवेदनलाई १० वटा पेशी र साडे दुई महिना लगाईनु सर्वोच्च अदालतको पहिलो रेकर्ड हुन सक्ने उनको व्यङ्ग छ ।
उनको रिटलाई साडे २ महिना पछि (२०७८ साउनको दोस्रो हप्ता) सर्वोच्चको फूल बेञ्चले मुद्दाको अन्तिम फैसला गर्ने आदेश गरेको थियो । फागुन ३०, असार २० र मंसिर १ गते पेशी तोकिए पनि अन्तिम फैसला भने भएको छैन ।
मंसिर १ गते पेशी तोकिनु आफु विरुद्धको षड्यन्त्र भएको उनको बुझाई छ ।
‘मंसिर ४ गते निर्वाचन तोकिएको छ, मेरो मुद्धाको पेशी मंसिर १ गतेलाई छ, सरसरती हेर्दा पनि के हुन्छ भने मेरो मुद्धा पनि सकिनु, सांसदको कार्यकाल पनि सकिनु हुन्छ ।’ थापाले भने–‘यसरी हेर्दा म माथी षड्यन्त्र भईरहेको छ, खासमा कानुनकै भाषामा भन्नु पर्दा ढिलो गरि न्याय दिनु भनेको न्याय नदिनु हो ।’
समयमै न्याय नदिनुमा अदालत र गठबन्धन दलका नेता बीच सेटिङ रहेको उनको आरोप छ ।
सर्वोच्च अदालत प्रति गम्भीर प्रश्न गर्दै उनी भन्छन्–‘अदालत के पहुँचको भरमा चल्ने हो त ? न्याय वा अन्याय समय मै दिनु पर्दैन ? के गरिबले सर्वोच्चमा सजिल्यै पहँुच राख्न सक्दछन ? अदाल धनि, तस्कर, गुण्डा र सरकार प्राप्त दलको लागि मात्रहो त ? गरिबका लागि हैन त ?’
उनले आफ्नै माऊ पार्टी मसाल पनि जाली र षड्यन्त्रकारी भएको आरोप लगाएका छन् । उनले आफुमाथी लगाईएको आरोपको स्पष्टिकरण गर्ने मौका नदिई जालझेल र षड्यन्त्र पूर्वक तरिकाले पार्टीले आफुमाथी कार्वाहीको डण्डा चलाएको आरोप लगाएका छन् । यद्धपी आफु पार्टीको केन्द्रिय सदस्य भईसकेको व्यक्ति भए पनि फेरी मसालको सदस्यता काटेको र आफुले मसाल नछोड्ने बताए ।