बागलुङ ! राजनीतिमा समय कहिल्यै एकै गतिमा बग्दैन—कहिले पराजयले पखाल्छ, कहिले अवसरले चम्काउँछ । संघर्षका उकाली–ओराली पार गर्दै, धैर्यलाई हतियार र अवसरलाई भ¥याङ बनाउँदै अन्ततः सफलताको शिखर चुम्ने पात्र हुन् जितबहादुर शेरचन । राजनीतिमा दुई पटक असफल भए पनि उनले निराशालाई कहिल्यै स्थायी बनाएन बरु त्यसलाई उर्जामा रूपान्तरण र तेस्रो पटकमा प्रदेश सभा सदस्यमा निर्वाचित भए । हारले नथाकेकै कारण जितको तेस्रो प्रयास सांसद हुँदै मन्त्री बन्ने अवसर बन्यो ।
बागलुङको तमानखोला–२ सिलबुङ बाट विद्यार्थी राजनितिबाट नेपाली राजनितिमा होमिएका शेरचन बुधबार गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्री बन्न सफल भएका छन । बिद्यार्थी राजनीतिबाट पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै आएका शेरचन एकैपटक जिल्लाको पार्टी सभापति बनेका थिए । महाधिवेशन प्रतिनिधि हुँदै पार्टीमा आफ्नो पहुँच पुराएर पटक पटक टिकट लिएर चुनावमा होमिएका शेरचन तेस्रो पटक भने आफु सभापति हुँदै पुन गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुने अवसर प्राप्त गरे ।
मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बुधवार गठन गरेको नयाँ मन्त्रीपरिषदमा शेरचनले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका हुन् । सांसद बनेको तेस्रो बर्षमा उनले मन्त्री पद हात पारे । यो सफलता पाउन उनले दुइ पटक सम्म प्रदेश सभा निर्वाचनमा हार व्यहोरेका थिए ।
२०७४ अघि सम्म शेरचन बिद्यार्थी राजनीति र पार्टीको महाधिवेश प्रतिनिधिमै सिमित थिए ।
महाधिवेसन प्रतिनिधि भएकै समयमा शेरचनलाई प्रदेशसभामा कांग्रेसले पहिलो पटक टिकट दियो । बागलुङ क्षेत्र नं. २ (२)बाट एमाले, माओवादी सहितको गठबन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीसँग उनी पराजित भए । टेकबहादुरको एक बर्ष भित्रनै निधनपछि सोही क्षेत्रको उपनिर्वाचनमा पनि शेरचन उमेदवार बने । तर उक्त समय पनि गठबन्धनले राजमोकै खिमबिक्रम शाही उमेदवार बनायो र एक्लै लडेका शेरचन पराजित भए । पश्चिम बागलुङको भुगोलसँग परिचित रहेका शेरचनलाई दोस्रो पटक पनि संसदछिर्ने मौका मिलेन । तेस्रो प्रयासमा उनले उक्त क्षेत्र छाडेर बागलुङ क्षेत्र नं. २ (१) रोजे । २०७९ को निर्वाचनमा भने उनले एमालेको समर्थन पाएका स्वतन्त्र उमेदवार प्रकाश घर्तीलाई पराजित गरेर प्रदेशसभा प्रवेश गरेका थिए ।
त्यतिबेला उनी कांग्रेस जिल्ला सभापति भैसकेका थिए ।
बाबु दलबहादुर आमा मनि शेरचन सामान्य कृषि पेशामै आबद्द भएपनि उनले भने राजनीतिक क्षेत्र रोजे । विद्यालयमा पढ्दा पढ्दै २०५३ सालमा जनजागृति माबिमा नेपाल बिद्यार्थी संघको इकाई अध्यक्ष भएर आफ्नो राजनिति सुरुवात गरेका शेरचन नेविसंघको क्षेत्रीय सदस्य भएर राजनितिमा सक्रिय भए । २०६२ सालमा काठमाण्डौ स्थित महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापतिमा निर्वाचित भए । २०६२।०६३ को जनआन्दोलनमा विद्यार्थी राजनितिको नेतृत्व समालेका शेरचन तिन पटक सम्म विभिन्न समयमा जेल जिवन विताउनु परेका थियो । उनी २०६६ मा नेविसंघको केन्द्रीय सदस्य भएका थिए । नेविसंघमा नै हुँदा हालका काँग्रेस सभापति गगनकुमार थापासँग निकट भएका शेरचनले पूर्व महामन्त्री कृष्ण सिटौला समूहमा आबद्द थिए ।
काँग्रेसको तीन पटक सम्म महाधिवेसन प्रतिनिधि निर्वाचित शेरचन कांग्रेस नेता कृष्ण सिटौला समूहका रुपमा चिनिन्छन् । चौधौ महाधिवेसनमा भने उनले सिटौला समूहमा लागेर देउवा समूहलाई जिताउन सक्रिय भए । जसका कारण बागलुङमा पनि उनले देउवा समूहको साथ पाएर सभापति बन्न सके ।
पहिलो चरणमा शेखर पक्षबाट जगदिशचन्द्र उपाध्याय, देउवा पक्षबाट द्रोण कुँवर र सिटौला समूहबाट शेरचन उमेदवार थिए । प्रतिस्पर्धामा कुँवर बाहिरिएपछि देउवा समूहले शेरचनलाई साथ दिएको थियो । साथै पश्चिम बागलुङले सभापति नपाएको भन्दै अन्य सबै समूहले शेरचनलाई साथ दिएपछि उपाध्यायलाई हराएर उनी सभापति बनेका थिए । मुख्यमन्त्री पाण्डेलाई निर्वाचित बनाउन दिपक मनाङे सहितका नेता लाई मनाएको जस पाएका शेरचनले पाण्डे मन्त्रीपरिषदमा महत्वपुर्ण पदको जिम्मा पाएका हुन् । उनि हाल पनि काँग्रेसका नेता सिटौला पक्षको नेतृत्व नै गरेका छन । गण्डकी प्रदेशमा नै सिटौला पक्षका एक मात्र सभापति समेत रहेका शेरचन प्रदेश सरकारको बजेट बाँडफाँड गर्ने ठाउँमा पुगेका छन ।