विधि र विधान मान्नुको विकल्प छैन - जितनारायण श्रेष्ठ

  • साउन ६, २०८३

बागलुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठले पार्टीभित्रका सबै नेता–कार्यकर्ता नेपाली कांग्रेसको विधि, विधान र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस बागलुङले ४४औँ बीपी स्मृति दिवसको अवसरमा आयोजित ‘हरित वातावरणका लागि जलवायु संवाद तथा जरा अभियान समापन समारोह’ लाई सम्बोधन गर्दै उनले पार्टीको एकता र सुदृढीकरणका लागि विधि र विधानलाई स्वीकार गर्नुको विकल्प नरहेको बताए ।
श्रेष्ठले विशेष महाधिवेशनपछि पार्टीभित्र केही असन्तुष्टि देखिए पनि अब सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
“नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशन प्रतिनिधिहरूले दिएको म्यान्डेटअनुसार गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति गठन भएको छ,” उनले भने, “यस विषयमा विभिन्न मुद्दा अदालतसम्म पुगे । कानुन र विधानअनुसार अदालतले पनि निर्णय गरिसकेको अवस्थामा त्यसलाई सम्मान गर्दै सबै एकजुट भएर पार्टीलाई बलियो बनाउनुपर्छ ।”
उनले अग्रज र युवा पुस्ताबीच सहकार्यको आवश्यकता औंल्याउँदै अनुभवी नेताले युवालाई मार्गदर्शन गर्नुपर्ने र युवाले पार्टीको संगठनलाई थप सशक्त बनाउन भूमिका खेल्नुपर्ने बताए ।

श्रेष्ठले नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे । उनले बीपीलाई दूरदर्शी नेता, लोकतन्त्रका अथक योद्धा तथा साहित्यकारका रूपमा स्मरण गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको उनको दर्शनले नेपाली राजनीतिलाई दीर्घकालीन दिशा दिएको बताए ।
“यदि हामीले बीपीको सिद्धान्त र विचारलाई वास्तविक रूपमा आत्मसात गर्ने हो भने व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी र राष्ट्रको हितका लागि एकताबद्ध हुनुपर्छ,” उनले भने ।

श्रेष्ठले जलवायु परिवर्तन अहिले विश्वव्यापी चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै यसको असर नेपालजस्तो मुलुकले अझ बढी भोगिरहेको बताए । त्यसैले नेपाली कांग्रेसले हरित वातावरण निर्माण, वृक्षारोपण र जलवायु संरक्षणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाएको उनको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले ‘जलवायु परिवर्तन सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्दै बीपी कोइरालाको विकास दर्शन आजको जलवायु संकटसँग पनि जोडिएको बताए ।
उनले बीपीले विकासको केन्द्रमा सधैं मानिसलाई राखेको स्मरण गर्दै विकास प्रकृतिमैत्री, दिगो र वातावरणअनुकूल हुनुपर्ने अवधारणालाई प्राथमिकता दिएको बताए ।

“आजको विकास जलवायुमैत्री हुनैपर्छ, अन्यथा मानव जीवन नै संकटमा पर्न सक्छ,” उनले भने, “जलवायु परिवर्तनको सामना राज्य वा कुनै एक राजनीतिक दलले मात्र गर्न सक्दैन। उद्योग, प्रविधि, पूर्वाधारदेखि नागरिकको जीवनशैलीसम्म सबै पक्ष वातावरणमैत्री हुन आवश्यक छ ।”

डा. देवकोटाले जलवायु परिवर्तनलाई नेपाली कांग्रेसले राष्ट्रिय बहसको विषय बनाउनु सकारात्मक कदम भएको उल्लेख गर्दै यसलाई नीति, योजना र व्यवहारमा समेत प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बीपी स्मृति दिवसको अवसरमा काँग्रेसले संचालन गरेको जरा अभियान’को समेत समापन गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्का, प्रतिनिधि सभा सदस्य रेणुका काउचा मगर, नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, काँग्रेस बागलुङका पूर्व सभापती प्रकाश शर्मा पौडेल, पूर्व सांसद टंकप्रसाद शर्मा कंडेल लगायतले विपी कोइरालाले देखाएको बाटोमा काँग्रेसले विराउन नहुने प्रतिक्रिया राखेका थिए । 
नेपाली काँग्रेस बागलुङका उपसभापती तारानाथ पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन सचिव हरिहर शर्मा र स्वागत सहसचिव ज्ञानुश्रीस शर्माले गरेका थिए । 

बीपी स्मृति दिवसमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम 

बागलुङ । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बागलुङले हरित जलवायु संरक्षणका लागि वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

बागलुङ नगरपालिका–१ रामरेखास्थित बीपी स्मृति पार्कमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठले बीपी कोइरालाको विचार, सिद्धान्त र राजनीतिक आदर्श आज पनि नेपाली राजनीतिका लागि उत्तिकै मार्गदर्शक रहेको बताए। उनले लोकतन्त्रलाई केवल शासन प्रणालीका रूपमा नभई नागरिकको स्वतन्त्रता, मानव अधिकार, सामाजिक न्याय र समृद्धिसँग जोडेर हेर्ने बीपीको दृष्टिकोण अहिले पनि सान्दर्भिक रहेको उल्लेख गरे ।

May be an image of one or more people, temple, tree and text

श्रेष्ठले बीपीले अघि सारेको राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसका आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै मुलुकको राजनीतिक स्थायित्व, सुशासन र आर्थिक विकासका लागि ती सिद्धान्तलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए। उनले विचारभन्दा माथि व्यक्ति नहुने र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण नै बीपीप्रतिको सच्चा सम्मान हुने धारणा राखे ।

बीपी कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । २०१५ सालको आमनिर्वाचनपछि उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले प्रेस स्वतन्त्रता, नागरिक अधिकार, बहुदलीय लोकतन्त्र तथा समाजवादमा आधारित समतामूलक समाज निर्माणको अवधारणा अघि सारेका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार अपदस्थ गरेपछि बीपीले लामो समय जेल जीवन र निर्वासन भोगे पनि लोकतन्त्रप्रतिको आफ्नो अडानबाट पछि हटेनन् ।

बीपीले प्रतिपादन गरेको ‘मेलमिलापको नीति’ नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण अध्यायका रूपमा लिइन्छ। राष्ट्रिय हितलाई सर्वोपरि राख्दै लोकतन्त्र र राष्ट्रिय एकतालाई सुदृढ बनाउने उद्देश्यले उनले राष्ट्रिय मेलमिलापको अवधारणा अघि सारेका थिए, जसले नेपाली राजनीतिमा दीर्घकालीन प्रभाव पारेको छ ।

स्मृति दिवसको अवसरमा आयोजित वृक्षारोपण तथा सरसफाइ कार्यक्रमले बीपीले जोड दिएको सामाजिक उत्तरदायित्व, जनसहभागिता र भावी पुस्ताप्रतिको दायित्वलाई समेत स्मरण गराएको सहभागीहरूले बताएका छन् । नेपाली काँग्रेस बागलुङका उपसभापती तारानाथ पौडेलको अध्यक्षता जिल्ला सदस्य महेन्द्र आचार्यको धन्यवाद मन्तव्य र सचिव हरिहर शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
May be an image of one or more people, tree, mountain and templeMay be an image of grass and tree

प्रतिक्रिया