विश्व कीर्तिमानका लागि सुरेन्द्र र सुसनले गरे कालापत्थरमा जोडी नृत्य

  • जेठ ११, २०८१

बागलुङ-, नृत्य निर्देशकद्वय सुरेन्द्र राई र सुसन तामाङले सोलुखुम्बुको कालापत्थरमा जोडी नृत्य गरेका छन्।  'उच्चतम उचाइमा कोरियोग्राफी गरिएको नृत्य' विधामा आधिकारिक गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि उनीहरूले यो प्रयास गरेका हुन्।  गत आइतबार (जेठ ६) गते दिउँसो १ बजे उनीहरूले ५ हजार ४३८ मिटरको उचाइमा नृत्य गरेका थिए।  दीपक बज्राचार्यको गीत 'मन मगन' मा उनीहरूले २ मिनेट ३० सेकेन्डसम्म नृत्य गरे। सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्वीकृतिमा सुरेन्द्र र सुसनले कार्यक्रम गरेका हुन्। गिनिजको तर्फबाट नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा उनीहरूले नृत्य गरेका थिए। टोलीमा फोटोग्राफर सौगात कार्की (बागलुङ) र भिडियोग्राफरद्वय उमेश सापकोटा र सोनम केसी (बागलुङ) थिए। ८ हजार मिटरका पाँच हिमाल दुई पटक आरोहण गरेर गिनिज वल्र्ड कीर्तिमानी बनेका सानु शेर्पा विशेष अतिथिका रूपमा नृत्यको साक्षी बनेका थिए। 'हाम्रा हिमालहरू बचाउनुहोस्ः हिमालको बहुविविधता महत्वपूर्ण छ' भन्ने नारासहित सुरेन्द्र र सुसनले यो कार्यक्रम गरेका हुन्।  कार्यक्रमको छायांकनका प्रमाण र अन्य प्रमाण छिट्टै गिनिजको लण्डन मुख्यालयमा पठाइने जनाइएको छ।

प्रतिक्रिया