गलकोटमा गलकोट नगर खेलकुद विकास समितिलाई जिम्मेवारी प्रदान गरिएको छ । गलकोट नगरको खेलकुद विकास गर्न गठित नगर खेलकुद समितिलाई गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले मनोनित पत्र प्रदान गर्दै जिम्मेवारी हस्तान्तरण गरे ।
कार्यक्रममा नगर प्रमुख भरत शर्मा गैरेले गलकोटमा खेलकुदलाई संस्थागत गर्नुपर्ने बताए । उनले खेलकुदको प्रष्ट कानुन तथा कार्यविधि अभावले गर्दा नगरस्तरीय खेलकुद विकास समिति गठन गर्न ढिला भए पनि समिति गठन गरेको बताए । गैरेले खेलकुदले नै युवा शक्ति एकीकृत गर्न मद्दत पुग्ने र नगरको वार्षिक बजेटमा खेलकुदको लागि बजेट व्यवस्था गर्ने समेत बताए ।
गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले नगर खेलकुद विकास समितिमा चयन हुने सम्पूर्णलाई बधाइ तथा सफल कार्यकांलको शुभकामना व्यक्त गरिन् । उनले गलकोटमा खेलिने सबै प्रकारका खेलकुद व्यवस्थित गर्नुपर्ने बताइन् । काउचाले खेलकुदमा रहेका समस्या समाधानको लागि सबैजनासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाइन् ।
कार्यक्रममा गलकोट नगर खेलकुद विकास समितिका अध्यक्ष योगेश भण्डारीले आगामी दिनमा गलकोटलाई खेलकुदको केन्द्र बनाउने गरी विशेष योजना बनाएर काम गर्ने बताए । उनले गलकोट नगरपालिकालाई देशमै नमुना खेलकुद पालिकाको रुपमा विकास गर्ने समेत बताए । पूर्व राष्ट्रिय भलिवल खेलाडी समेत रहेका भण्डारीले सबै पालिका, प्रदेश, संघ तथा गैर आवासीय नेपालीसँग आवश्यक सहकार्य गरी अगाडि बढ्ने र गलकोटलाई भलिबल हव बनाउने बताए ।
नगर खेलकुद विकास समितिको अध्यक्षमा योगेश भण्डारी, उपाध्यक्षमा गोर्ख भण्डारी र सदस्यहरुमा मिठु सुनार, टेक बहादुर गुरुङ, दिपक मल्ल, विजय बम मल्ल, गणेश बुढाथोकी, जीवन साहनी, कुमार गुरुङ, चिराग राना, विनिता पाइजा, कमला श्रीस, सोनाम घर्ती, नवीन शेरचन रहेका छन् । समितिको सदस्य सचिवमा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रुद्र नारायण सापकोटा रहेका छन् । कार्यक्रम गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता तथा प्रशासकीय अधिकृत तुलबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।