• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • बागलुङ ,
  • स्थानीय सरकार

तमानखोला बालगृह : अभिभावक विहिन र विपन्न बालबालिकाको आश्रयस्थल

  • जेठ २१, २०८३

नारायण रिजाल, बागलुङ-   पाँच वर्षअघि तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाको कानमा एउटा खबर पुग्यो–अभिभावकविहीन एक बालिका आर्थिक अभावका कारण विद्यालय जान सकेकी थिइनन् । सामान्य लाग्ने त्यो खबरले उनको मनमा असामान्य प्रश्न जन्मायो—“यो बालिकाको मात्रै होइन, यस्ता अरू बालबालिकाको भविष्य कसले हेर्ने ?” उनि तमानखोला गाउँपालिकाको अध्यक्ष समेत थिए । पहिलो कार्यकालमा आफ्नो त्यो योजना सफल हुन नसकेपनि पछि उनी गाउँपालिकामा अध्यक्ष दोहोराए र एउटा अठोट लिए गाउँपालिका भित्रका सवै बालकालिकालाई पढ्न पाउने अधिकारबाट बञ्चित बनाउँदिन । 
अध्यक्षले पाउने पारिश्रमिकबाट बालगृह संचालनको सुरुवात
अध्यक्ष बुढाले आफुले पाउने पारिश्रमिकबाट गाउँपालिकामा नै एउटा बाल गृह निर्माण गर्ने अठोट लिए र त्यो निर्णय अहिले कार्यान्वयन भएको छ । एउटा बालिकाको आर्थिक अभावका कारण अध्यक्ष बुढालाई गाउँपालिकाभित्रका अभिभावकविहीन, विपन्न र संकटमा परेका बालबालिकाका लागि सुरक्षित आश्रयस्थल निर्माण गर्ने सोच जन्मायो ।
कार्यपालिकाको बैठकदेखि गाउँसभासम्म उनले आफ्नो प्रस्ताव राखे । संविधानले प्रत्याभूत गरेको बालअधिकारलाई व्यवहारमा उतार्ने उद्देश्यसहित गाउँपालिकाले बालगृह सञ्चालन गर्ने निर्णय ग¥यो ।  २०७९ सालमा तमानखोला–३ तमानगाउँमा एउटा घर भाडामा लिएर बालगृह स्थापना गरियो । अहिले त्यही घर अर्थात बालगृहमा  १६ जना बालबालिकाले आफुलाई सुरक्षित महशुस गर्न पाएका छन भने नजिकैको विद्यालयमा अध्ययन गरी आफ्ना सपना र भविश्य कोर्न मौका पाएका छन । ति बालबालिकाका लागि एक जना हेरचाह कर्तासँगै बालगृहमा १७ जना आश्रीत रहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर बताउँछन । जुन बालगृह अभिभावकको अभावमा साथ बनेको छ ।
अभिभावक विहिन र विपन्न बालबालिका आश्रीत 
बालगृहमा आश्रीत बालबालिकाका कतिका  अभिभावक बाढिपहिरोका कारण गुमेका छन भने कतिका दुर्घटनामा गुमेका छन । त्यसका साथै  कतिपय अत्यन्तै विपन्न परिवारबाट आएका छन् । उनीहरूको साझा पीडा एउटै छ—आफ्नो भनेर अँगालो हाल्ने मान्छे नहुनु । तर बालगृहमा आएपछि उनीहरूले परिवारको अनुभूति गर्न थालेको बताउँछन तमानखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष एवं बाल गृहका अध्यक्ष झकबहादुर बुढा मगर ।  बिहान विद्यालय जानु, साँझ साथीहरूसँग खेल्नु, एउटै टेबलमा बसेर गृहकार्य गर्नु र भविष्यका सपना बाँड्नु उनीहरूको दैनिकी बनेको छ । उनीहरू स्थानीय धनगौज्योति माध्यमिक विद्यालयमा अध्ययनरत छन्।  एसईईपछि उच्च शिक्षाका लागि थप व्यवस्थापन गर्ने योजना गाउँपालिकाले बनाएको छ । 
गाउँपालिकाबाट प्रत्येक वर्ष १० लाख रुपैयाँ विनियोजन 
गाउँपालिकाले प्रत्येक वर्ष बालगृह सञ्चालनका लागि १० लाख रुपैयाँ विनियोजन गर्दै आएको गाउँपालिका अध्यक्ष बुढा मगरले बताए । खाद्यान्नदेखि आधारभूत आवश्यकतासम्मको जिम्मेवारी गाउँपालिकाले लिएको छ भने विभिन्न सामाजिक संस्था, लायन्स क्लब तथा सहयोगी हातहरूले शैक्षिक सामग्री, पोसाक र अन्य आवश्यक सामग्री उपलब्ध गराउँदै आएका छन । 
गाउँपालिको प्रमुख उपलब्धीकै रुपमा बालगृह 
बालबालिकाको क्षेत्रमा गाउँपालिकाको सानो प्रयासले सफलता पाउँदा केही गरेको अनुभुती भएको अध्यक्ष बुढा मगर बताउँछन । “संविधानले बालबालिकाको अधिकार सुनिश्चित गर्न भनेको छ । कसैले हामीलाई संविधानले दिएको जिम्मेवारी के पूरा ग¥यौ भनेर सोध्यो भने हामी यो बालगृह देखाउन सक्छौँ । यो गाउँपालिकाको प्रमुख उपलब्धीमा पर्छ । ”
अहिले स्थानीयको घर भाडामा लिएर बालगृह चलाइएको गाउँपालिकाले विभिन्न क्षेत्रबाट स्रोत जुटाउन सकिएमा भविष्यमा आफ्नै भवन निर्माण गरेर अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना बनाएको छ । 
वडा वा गाउँपालिकामा कसैले अभिभावकविहीन वा समस्यामा परेका बालबालिकाको जानकारी गराए गाउँपालिकाको टोली स्वयं पुगेर उद्धार र संरक्षणको व्यवस्था गर्ने गरेको वडा अध्यक्ष झकबहादुर बताउँछन । 
अभिभावक बनेर बालबालिकाको साथमा उभिएको गाउँपालिका
पहाडका धेरै गाउँहरू जनसंख्या घट्दै जाँदा सुनसान बन्दै गएका छन् । तर तमानगाउँको त्यो सानो घरमा भने हरेक बिहान बालबालिकाको हाँसो गुञ्जिन्छ । त्यो हाँसो केवल उनीहरूको मात्रै होइन, अभिभावक गुमाएका बालबालिकालाई फेरि सपना देख्न सिकाउने एउटा गाउँपालिकाको मानवीय सफलताको कथा पनि बनेको छ । जहाँ राज्य केवल कागजको नीति बनेर बसेको छैन, एउटा अभिभावक बनेर बालबालिकाको साथमा उभिएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय