बागलुङ- जिल्ला प्रहरी कार्यालय बागलुङले निर्वाचन लक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन ठूलो मात्रमा अवैद्य हतियार बरामद गरेको हो । प्रहरीले पछिल्लो ४५ दिनमा ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रण अभियान संचालन भएको छ । यो अभियानमा अहिले सम्मकै धेरै हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालयका बागलुङका प्रमुख प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिए ।
कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय बुर्तिवाङ मातहत बाट खटिएको ६२ थान अबैद रुपमा सञ्चालनमा रहेका हतियार बरामद गरेको हो ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन र चोरी शिकारी नियन्त्रण गर्न भरुवा बन्दुक खोजी गरी बरामद गरिएको हो । ढोरपाटन सिकार आरक्ष र विभिन्न सामुदायिक वनहरुमा चोरी–सिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामा समते भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकाले इजाजत पत्र नलिईकन लुकाई–छिपाई राखिएका भरुवा बन्दुकलाई संकलन गरी बरामद गरिएको बागलुङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङ र मातहतका कार्यालयबाट भएका गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जङ्गल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा अवैध बन्दुक बरामद भएको प्रहरी उपरिक्षक भारतीले जानकारी दिए ।
बरामद भएका धेरैजसो भरुवा बन्दुक स्थानीय स्तरमै बनाइएको र चालु अवस्थामै रहेको भेटिएको पाइएको छ । भरुवा बन्दुक बरामद गरे पनि लुकाएर राखिएको ठाउँमा कसको हो भन्ने खुल्न नसकेको हुँदा बन्दुकको मालिक पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । इजाजत पत्र नलिईकन भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र रु. ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।