बागलुङ - यतिबेला जिल्ला तहमा राजनितिक दलहरुले आफ्नो उम्मेदवारको नाम सिफारिस गरेका छन । शनिबार नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ ले प्रत्यक्षमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको नाम सिफारिस गरेपछि सोमबार नेकपा माओबादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम सिफारिस गरेको छ । नेकपा माओबादी केन्द्र बागलुङका इन्चार्ज बलावती शर्माका अनुसार बागलुङ क्षेत्र नं.–२ को सुझाव अनुसार अध्यक्ष प्रचण्डको नाम सिफारिस गरिएको हो । प्रचण्डको नाम सिफारिस सँगै केन्द्रीय राजनीतिमै हलचल मच्चिने भएको छ । प्रचण्ड सँगै क्षेत्र नं. २ बाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं वर्तमान सांसद देवेन्द्र पौडेल, गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द बहादुर बुढा सागर र कृष्ण केसीको नाम सिफारिस गरिएको छ । अध्यक्ष प्रचण्ड र केसीको नाम सुझाव आएको भनि सिफारिस गरिएको माओबादी केन्द्र बागलुङका इन्चार्ज शर्माले बताईन ।
माओबादी केन्द्रले सोमबार मात्रै दुवै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको हो । शिक्षा मन्त्री पौडेल र केसीलाई क्षेत्र नं. १ बाट पनि सिफारिस गरिएको छ । माओबादीले संघका लागि समानुपातिक तर्फ क्षेत्र नं. १ बाट बलावती शर्मा र मोहम्मद अजिजको नाम सिफारिस गरेको छ भने क्षेत्र नं. २ बाट निलबहादुर पुन, निरमायाँ श्रीष, केशरी घर्ति मगर र ललित श्रीषको नाम सिफारिस गरेको जिल्ला इन्चार्ज शर्माले जानकारी दिईन ।
माओबादी केन्द्रले क्षेत्र नं. १ (क) मा प्रत्यक्ष तर्फ यज्ञबल्लब शर्मा र चक्रपाणी कंडेल, समानुपाति तर्फ कुशुम बुढा, गगन बहादुर पुन र लक्ष्मीदेवी रोकाको नाम सिफारिस गरेको छ भने क्षेत्र नं. १ प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ कुलचन्द्र शर्माको मात्र नाम सिफारिस गरेको छ । यसै क्षेत्रमा समानुपातीक तर्फ मेघनाथ शर्मा, चिनिमायाँ काला मगर, टिकाकुमारी विश्वकर्मा र क्या. पदमबहादु श्रीष रानाको नाम सिफारिस गरेको छ ।
त्यसैगरी क्षेत्र नं. २ को प्रदेश सभा (क)मा प्रत्यक्ष तर्फ दिलमायाँ रोका, ज्ञामनाथ गैरे, राजिव घिमिरे, नरेश केसी र अर्जुन चोखाल रहेका छन भने समानुपातिक तर्फ भविकला रोका मगर, गंगाबहादुर भुजेल, दिलकुमारी पुन, मेखबहादुर विक र छमकुमारी बस्नेत रहेका छन । यसै क्षेत्रको प्रदेश सभा (ख) मा प्रत्यक्षमा चन्द्रलाल अर्याल र दिलमायाँ रोकाको सुझाव सहित सिफारिस भएको शर्माले जानकारी दिईन । यस क्षेत्रमा समानुपातिक तर्फ प्रेम बहादुर रोका र कमला पुन रहेका छन ।
प्रदेश क्षेत्र र संघिय क्षेत्रबाट आएको सुझाव सहितको उम्मेदवारको नाम गण्डकी प्रदेश कमिटिमा पठाईएको माओबादी केन्द्र बागलुङले जनाएको छ ।