बागलुङ-गण्डकी प्रदेश सरकार पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले स्थानीय उत्पादन बजारीकरण गर्नुपर्ने बताएका छन । उनले स्थानिय उत्पादनलाई ब्राण्ड बनाउने गरी प्रदेश सरकारले योजना ल्याउन लागेको बताएका छन् । जिल्लाको काठेखोला गाउँपालिका—१ पालाले आयोजना गरेको वडा कार्यालयको जग्गादाता सम्मान तथा वडा बुलेटिन पाला दर्पण पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले गाउँबाट बसाइँ सरेर जाने अवस्था रोक्न गाउँमा उत्पादन हुने वस्तुको ब्राण्डिङ गर्ने विषयमा प्रदेश सरकारमा छलफल भैरहेको बताए । ‘मैले यो विषयमा प्रदेश सभामा बोलेको पनि छु,’ उनले भने,‘कोदोबाट लोकल रक्सी बनाउन दिने विषयमा छलफल पनि भएको छ । जसरी पनि विदेशी रक्सीले हाम्रो गाउँघरमा भित्रिएकै छन् ।’ उनले बागलुङका एउटै गाउँमा वर्षमा पाँच करोड बढिको रक्सी भित्रिने गरेको उदाहरण दिए । पालमा उत्पादन हुने अदुवा बेसार लगायतका उत्पादनलाई बजारीकरण गर्न सके मात्रै पालाबाट बसाइँ सराई रोकिने कँडेलको भनाई छ । ‘गाउँमा माटो सुहाउँदो खेतीपाती गरेर त्यसलाई बजारीकरण गर्नु जरुरी छ,’ कँडेल भन्छन्,‘गाउँमा जग्गाहरु बाँझो राखेर भारतबाट आएको चामल खाएर आनन्द मानिरहेका छौं । त्यो चामलले मिर्गौलाको रोगी बढाएको छ ।’ बजारको चिज खाने र अल्छी हुने गरेका कारण समस्या बढ्दो देखिएको उनी बताउँछन् । उनले पालाको सहिद पार्कको विकासका लागि विस्तृत योजना अनुसार अगाडि बढ्ने बताए । ‘पालाको सहिद पार्कको विकासका लागि प्रदेश सरकारबाट मैले पहल गर्छु,’ उनले भने,‘त्यसका लागि कम्तीमा पाँच रोपनी जग्गा आवश्यक पर्छ । त्यो जग्गाको व्यवस्थापन तपाईहरुले गर्नुहोला । मैले अन्य साथीहरुलाई पनि पालाको सहिद पार्कको कुरा अगाडि बढेको अरुले दाबी नगर्नुहोला भनेको छु ।’ उनले सहिद पार्कलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरी अगाडि बढ्ने बताए । पर्यटनको विकासका लागि प्रकृति संस्कृति र नयाँपन आवश्यक भएको भन्दै त्यही अनुसार लाग्न आग्रह गरे । ‘लोकमार्गको छेउमा भएकाले यहाँ पर्यटक ल्याउनका लागि गाह्रो छैन,’ कँडेलले भने । उनले काठेखोलाको विभिन्न ठाउँमा पुलहरुको आवश्यक रहेकाले आफुले त्यसका लागि पहल गर्ने बताए । ट्रयाक खोलिएका बाटाहरुलाई स्तरोन्नती गर्दै अगाडि बढ्ने उल्लेख गरे । पालामा मदातन केन्द्रका लागि समस्या भएको भन्ने विषयमा सर्वदलिय सहमती गरिए प्रदेश सरकारले केही बजेट विनीयोजन गरेर ठाउँ सम्याउनका लागि सहयोग गर्ने उल्लेख गरे ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडाबहादुर कार्की, नेकपा माओबादी काठेखोलाका अध्यक्ष कृष्ण बहादुर थापा, नेकपा एमालेका वडा इन्चार्ज गोविन्द बहादुर खड्का, नेपाली काँग्रेस पालाका सभापति गणेश नेपाली लगायतले बोलेका थिए । पुस्तकको समिक्षा कोष तथा लेखान नियन्त्रक जब्बरबहादुर भण्डारीले गरेका थिए । कार्यक्रममा वडा कार्यालययका लागि जग्गा प्रदान गर्ने जग्गादाता बलबहादुर थापा, चन्द्रबहादुर थापा र श्रीकला थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रम काठेखोला गाउँपालिका–१ का वडा अध्यक्ष खड्क बहादुर थापाका अध्यक्षता, वडा सदस्य गम्भिरा थापाको स्वागत र वडा सचिव शिव रिजालको संचालनमा सम्पन्न भएको थियो ।