गण्डकीको स्वास्थ्य क्षेत्र सुधारका लागि कार्ययोजना बनाएर अगाडी बढेका छौं -स्वास्थ्य मन्त्री पाठक

  • असोज २२, २०८१

बागलुङ- गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मङ्गलबार प्रेस चौतारी नेपाल बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका निम्ती तिन तहको कार्ययोजना बनाएर १ सय योजना सार्वजनिक गरेका बताए । मन्त्री पाठकले नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना प्रस्तुत गरेका हुन । उनले ६ महिनामा सम्पन्न गर्ने गरी अल्पालिका कार्ययोजना ४० वटा, २ वर्षमा सम्पन्न गर्नेगरी मध्यकालिन कार्ययोजना ५० र दिर्घकालिन अर्थात ५ वर्षमा सक्नेगरी १० वटा कार्ययोजना गरी १ सय योजना सार्वजनिक गरेका छ । 

मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ र गुणस्तीय सेवा प्रवाहका लागि आवधिक योजना बनाएर आफूले काम सुरुआत गरेको बताए । “स्वास्थ्य क्षेत्रको आधारभूत तहदेखि सुधारका कामलाई तिव्रता दिन्छौँ, मन्त्रालयको सिङ्गो टिम कार्ययोजना कार्यान्वयनका लागि प्रतिबद्ध छ”, उनले, “सङ्घ र प्रदेशको स्वास्थ्य नीति, बजेट, प्रदेशको सम्भावना, अन्तर्राष्ट्रिय मान्यता आदिको गहन अध्ययन गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरिएको छ ।”

योजना कार्यान्वयनका लागि स्रोतको प्रबन्ध गर्न सङ्घ सरकार, विकास साझेदारलगायतसँग सहकार्य गरिने मन्त्री पाठकले बताए । उनले प्र्रस्तुत गरेका कार्ययोजना अन्तर्गत कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् । 

अल्पकालीन योजनातर्फ चिकित्सक एवं स्वास्थ्यकर्मी प्रोत्साहन सम्बन्धी कार्यविधि र  प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन कार्यविधि तयार गरिने मन्त्री पाठकले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरिने उहाँको भनाइ छ । नीजि स्वास्थ्य संस्था दर्ता, नवीकरण र अनुगमन सम्बन्धी कार्यविधि संशोधन गरिने कार्ययोजनामा उल्लेख छ । 

प्रदेशभित्र औषधिको गुणस्तर जाँचको प्रबन्ध मिलाइने मन्त्री पाठकलले बताउनुभयो । पूर्ण संस्थागत सुत्केरी अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र पाठेघर खस्ने समस्या तथा फिस्टुला रोगको पहिचान गरी निःशुल्क उपचारको व्यवस्था गरिने उनले उल्लेख गरे  , गण्डकी र धवलागिरि आयुर्वेद औषधालयमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरी अन्तरङ्ग सेवा व्यवस्थित गरिने भएको छ । मन्त्री पाठकले सर्ने रोग क्षयरोग, कुष्ठरोग र नसर्ने रोगको मधुमेह, उच्च रक्तचापलगायतका समुदायस्तरमा ‘स्क्रिनिङ’ गरिने बताए । प्रदेश सरकार मातहतका अस्पतालहरुमा मानसिक रोगको उपचार सेवाको विस्तारका साथै मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरिने उनले बताए ।  

मध्यकालीन योजनाअन्तर्गत कानुनी सुधारतर्फ अस्पताल व्यवस्थापन समिति गठन आदेशको संशोधन एवं पुनर्लेखन गरिने भएको छ । सेवा करारमा स्वास्थ्य क्षेत्रको जनशत्तिः व्यवस्थापन कार्यविधि संशोधन गरिने मन्त्री पाठकले बताए । भौतिक पूर्वाधारतर्फ लमजुङ, स्याङ्जा र दमौली अस्पतालको नयाँ भवन निर्माण कार्य सुरु गरिने कार्ययोजनामा जनाइएको छ । गण्डकी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिने भएको छ । 

धवलागिरि अस्पताल, मातृशिशु मितेरी र लमजुङ अस्पतालमा मातृशिशु प्रतिक्षा गृह सञ्चालन गरिने जनाइएको छ । धवलागिरि अस्पताल, दमौली, मध्यविन्दु र स्याङ्जा अस्पतालमा ट्रमा केयर सेन्टरको स्थापना गरी दुर्घटनामा परेका वा ठूलो चोटपटक लागेका बिरामीलाई तत्काल आवश्यक उपचारको व्यवस्था मिलाइने मन्त्री पाठकल बताए ।  
पाठकले प्रदेश सरकारलाई हस्तान्तरण बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपिपल प्राथमिक स्वास्थ्य केन्द्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गरिने जानकारी दिए । 
दीर्घकालीन योजनामा स्वाथ्य क्षेत्रको विशेषता र संवदेनशीलतालाई ध्यान दिई सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधन गर्न पहल गरिने उल्लेख छ । प्रदेश सरकारको कुल बजेटमा १० प्रतिशत हुने गरी स्वास्थ्यमा हुने व्यक्तिगत खर्चको भार क्रमशः घटाउँदै लगिने लक्ष्य लिइएको छ । अस्पतालमा आवासगृह व्यवस्थापन, प्रदेशमा क्यान्सर, मुट र मृगौला रोगको विशिष्टीकृत अस्पतालको स्थापना गरिने उल्लेख छ । 
मन्त्री पाठकले धौलागिरी अस्पतालको व्यवस्था सुधारका लागि अब प्रदेश सरकारले जस्तो सुकै कदम चाल्न सक्ने बताए । उनले आफ्नो ईच्छा शक्ति स्वास्थ्य क्षेत्र सुधारका लागि भएको हुँदा गण्डकीको स्वास्थ्य क्षेत्रको सुधारका लागि आफु अहोरात्र खट्ने बताए । उनले प्रदेश सरकारले आपतकालिन उद्धारका लागि हेलिकप्टर किन्ने योजना बताएको बताए ।

प्रतिक्रिया