माओबादी केन्द्रबाट बागलुङका देवेन्द्र पौडेल मन्त्री बन्ने पक्का

  • असोज २०, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले मन्त्री बनाउनको लागि नाम टुंग्याएको छ । बुधबार बसेकाे स्थायी कमिटी बैठकले  बागलुङका देवेन्द्र पौडेल शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो। यस्तै बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए । तर मन्त्रायलको नाम टुंग्याइएको छैन । देवेन्द्र पौडेल माओवादीका स्थायी सदस्य हुन्। उनी बागलुङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन्। उनी यस अघि २०६७ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए। केही समय उनी बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्दा नयाँ शक्तिमा आवद्ध थिए। २०७४ सालमा उनी फेरि माओवादीमै फर्किएका हुन्। 

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि माओवादीले मन्त्रीको नाम टुंग्याएको हो। यसअघि अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल भइसकेका छन्।  माओवादी केन्द्रको भागमा ५ मन्त्री र १ राज्यमन्त्री परेको छ।  यस्तै, शशी श्रेष्ठ माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन्। उनी अहिले राज्य व्यवस्था समितिमा पनि सभापति छिन्। उनी यस अघि ०६३ सालमा तत्कालीन गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा स्वास्थ्य राज्यमन्त्री थिइन्। उनी २०६४ मा पनि तत्कालीन संविधान सभाको संविधान सभा सदस्य थिइन्। विद्यार्थी राजनीतिबाट आएकी उनी पद्मकन्या क्याम्पसकी स्ववियु सदस्य पनि भएकी थिइन्। पञ्चायतकालमा उनी खरो विद्यार्थी नेताको रूपमा चिनिन्थिन्। उनी नारायणकाजी श्रेष्ठ निकट मानिन्छिन्।

यसैगरी महेश्वर गहतराज माओवादीका केन्द्रीय सदस्य हुन्। उनी बाँकेबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। यसअघि २०६४ सालमा पनि उनी संविधान सभा सदस्य थिए। उनी दलित नेतामा अग्रपंक्तिमा पर्छन्। उनी माओवादीका वर्षमान पुननिकट हुन्।  त्यस्तै, बोधमाया यादव माओवादी सशस्त्र संघर्षका सहिद रामवृक्ष यादवकी छोरी हुन्। धनुषाकी यादव समानुपातिक सांसद हुन्। उनकी आमा रामकुमारी यादव २०६४ सालमा धनुषाबाट निर्वाचित सांसद थिइन्। 

प्रतिक्रिया