बागलुङका सहकारीकर्मी भन्छन् -सरकारको पछिल्लो निर्देशनले ऋण असुलीका लागि सहयोग पुगेको छ  

  • ब‌ैशाख १३, २०८३

बागलुङ- सरकारले सहकारीको ऋण असुलीका लागि बैशाख ८ गते जारी गरेको निर्देशनले वित्तीय कारोबार गर्ने सहकारीहरुमा सकारात्मक सन्देश प्रवाह गरेको बागलुङका सहकारीकर्मीहरुले बताएका छन् ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १९ औं स्थापना दिवसका अवसरमा आइतवार आयोजित पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सरकारको निर्देशनले सहकारी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका हुन् ।

सहकारीको ऋण मिनाहा हुन्छ, ऋण तिर्न पर्दैन भनेर निर्धक्क बसेकाहरु पनि ऋण तिर्ने प्रतिवद्धता व्यक्त गर्दै संस्थामा आउन थालेको एक सहकारीकर्मीले बताए । सहकारीबाट लगानी गरिएको ऋण सदस्यहरुले वचत रकम हो भन्ने कुरा धेरै सम्झाउदा पनि नमान्नेहरुले सरकारको निर्देशन लगत्तै ऋण तिर्ने प्रतिवद्धता व्यक्त गर्न थालेको उनले भनाइ छ ।

सहकारीमा सञ्चालक र व्यवस्थापनले वचत अपचलन गरेका विषय सार्वजनिक भइसकेका छन्, अबको समस्या खराव ऋणका कारण आउने भएकाले खराव ऋण असुलीका लागि सहकारी संस्थाका सञ्चालक र व्यवस्थापनको सक्रियता तथा सरोकारवालाको खबरदारी आवश्यक रहेको सहभागीहरुले बताए ।

सहकारी क्षेत्रमा पछिल्लो समय देखिएको समस्या समाधानका लागि सरोकारवालाहरुलाई जवाफदेही बनाउन आवश्यक छ, सहकारीका सञ्चालक, व्यवस्थापन र ऋणी सदस्य र जमानतकर्ताहरुलाई जवाफदेही बनाउने हो भने सहकारीको धेरै समस्या समाधान हुने सहभागीहरुको भनाइ छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बैशाख ८ गते सार्वजनिक सूचना जारी गरेर सहकारीबाट ऋण लिएर मिलान नगरेका संस्थाका सञ्चालक, ऋणी शेयर सदस्य, व्यवस्थापक, कर्मचारी र जमानी बसेकाहरूलाई ऋण चुक्ता गर्न आव्हान गरेको थियो ।

तोकिएको समयमा ऋण मिलान नगरेमा ऋणी, निजको परिवार र जमानीको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने तथा उनीहरूको नाममा रहेको सम्पत्ति र खाता रोक्का गर्ने, सार्वजनिक सेवा सुविधा समेत रोक्का गर्ने र कर्जा लिँदा राखिएको धितो लिलाम गरिने व्यवस्थापन समितिले जनाएको छ ।

ऋण लगेर नतिर्ने प्रवृति बढ्दै गएको अवस्थामा सरकारले जारी गरेको सूचनाले ऋण तिर्न पर्छ, नतिरे समस्यामा परिन्छ भन्ने सन्देश गएको सहकारीकर्मीहरुको साझा बुझाइ छ ।

कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक तथा जिल्ला सहकारी संघका सल्लाहकार दिपक गौतमले वित्तीय सहकारीमा देखिएको समस्या समाधान गर्नका लागि खराव ऋण असुलीलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए । 

सहकारीमा सञ्चालक र व्यवस्थापनले नै रकम अपचलन गरेको हो भने राज्यले कार्वाही गर्नु पर्छ, होइन ऋणीले ऋण नतिरेका हुन्, भने सञ्चालहरुले अलि कडी कडाउ गरेर असुली प्रक्रिया अगाडि बढाउनु पर्छ, गौतमले भन्नुभयो,‘अझै पनि सञ्चालकहरुले आँट नगर्ने, ऋणीहरुको अनुहार हेरेर व्यवहार गर्ने हो भने थप समस्या पनि आउन सक्छ, त्यसैले सञ्चालकहरु सचेत बन्न जरुरी छ, खराव ऋणका लागि निर्मम बन्न जरुरी छ ।’

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले बागलुङमा सहकारीको योगदान महत्वपूर्ण रहेको छ, सहकारीमार्फत सञ्चारमाध्यम सञ्चालन गर्नेदेखि उत्पादन, प्रशोधन, बजारीकरण लगायत वित्तीय क्षेत्रमा सहकारीको योगदान उल्लेख्य रहेको बताए । सहकारीमार्फत सञ्चार अभियानको शुरुवात नै बागलुङले गरेको थियो, अध्यक्ष थापाले भने,–‘सहकारीको मुख्य चुनौतीलाई सामना गर्नका लागि पत्रकार महासंघ र सिंगो पत्रकारिता क्षेत्रले समन्वय गरेर अगाडि बढ्छौ ।’

सहकारीमा समस्या आएका बेला सदस्यहरुले सहकारीलाई सहज रुपमा सञ्चालन गर्न सहयोग गर्नु पर्नेमा उल्टै सहकारीको ऋण तिर्न पर्दैन भन्ने जस्ता प्रचारको पछि लाग्न नहुने उनको भनाइ थियो ।

सहकारी र सञ्चार विषयमा सहजीकरण गर्दै जिल्ला सहकारी संघ बागलुङका पूर्व अध्यक्ष तथा सल्लाहकार राम बहादुर जिसीले सञ्चार क्षेत्रले सहकारीका विषयमा आलोचनात्मक रुपमा सञ्चार सामग्री सप्रेषण गर्न आग्रह गरेका थिए । 

सहकारी समाजको आर्थिक विकासको महत्वपूर्ण पाटो हो, सहकारीमा समस्या आउदा व्यवसायीहरु पलायन हुने लगायत आयआर्जनका काममा समस्या आएको छ, पत्रकारहरुले सकारात्मकसंगै सहकारीका विषयमा आलोचनात्मक भएर लेख्नु पर्नेमा उनको जोड थियो ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षता, सचिव गणेश नेपालीको सञ्चालन र सञ्चालक जगन्नाथ सापकोटाको स्वागत सम्पन्न भएको थियो ।

२०५० सालमा स्थापना भएको जिल्ला सहकारी संघ लामो समय निष्क्रिय भएका कारण २०६४ मा खारेज भएको थियो । २०६४ मंसिरमा बागलुङका १६ वटा सहकारी संघ संस्थाले नयाँ संघ दर्ताका लागि निवेदन दिएका थिए । कृष्ण शंकर श्रेष्ठको अध्यक्षतामा बनेको तदर्थ समितिले तत्कालिन डिभिजन सहकारी कार्यालय बागलुङमा २०६५ बैशाख १३ गते संघ दर्ता गराएको थियो । संघ दर्ता भएको बैशाख १३ गतेलाई जिल्ला सहकारी संघले स्थापना दिवसका रुपमा मनाउदै आएको छ ।

 

प्रतिक्रिया