बागलुङमा ९४ प्रतिशत बालबालिकाले पोलियो विरुद्धको खोप लगाए

  • असार १, २०८१

बागलुङ - बागलुङमा ९४ प्रतिशत बालबालिकालाई पोलियो विरुद्ध ‘आइपिभी’ खोप लगाईएको छ । जेठ १३ गते देखी संचालन गरिएको पोलियो खोप अभियानमा जिल्लाका दश वटा स्थानिय तहमा ९४ प्रतिशत बालबालिकाले खोप लगाएका छन । कुल ११ हजार ७ सय ११ जना बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउने लक्ष्य रहेता पनि अभियानमा ११ हजार १ सय १५ बालबालिकाले खोप लगाएका छन । अभियानमा प्रत्ये विद्यालय सँगै  नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरिएको थियो ।  खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिएको  स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिए । 
कार्यालयका अनुसार जिल्लाको ताराखोला गाउँपालिकामा लक्ष्य भन्दा १३ प्रतिशत बढि बालबालिकालाई आईपिभी खोप लगाईएको छ । कुल ३२९ लक्ष्य रहेको ताराखोलामा ३४२ बालबालिकालाई खोप प्रदान गरिएको छ । जिल्लाको सवै भन्दा बढि बागलुङ नगरपालिकामा २ हजार ४५६ बालबालिकाले खोप लगाएका छन यो सँगै बागलुङ नगरपालिकामा ९७ प्रतिशत बालबालिकाले आईपिभी खोप लगाईएको खोप सुपरभाईजर खत्रीले जानकारी दिए । । जिल्लाका दश वटै स्थानिय तहमा एकै साथ संचालन गरिएको खोप अभियानमा गलकोट नगरपालिकामा १ हजार २८१ बालबालिकालाई खोप लगाईएको छ । त्यसैगरी जैमिनी नगरपालिकामा ७७१, ढोरपाटन नगरपालिकामा १ हजार ८२०, काठेखोला गाउँपालिकामा ९४८, तमानखोला गाउँपालिकामा ४५४, निसीखोला गाउँपालिकामा १ हजार १८४, बडिगाड गाउँपालिकामा १ हजार ४३९ र बरेङ गाउँपालिकामा ४२० जना बालबालिकालाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । 
अभियानमा छुटेका बालबालिकालाई धौलागिरी अस्पताल बागलुङ रहेको एमसिएच क्लिनिकबाट खोप प्रदान गरिएको छ भने अन्य संस्थाबाट पनि नियमित खोप संचालन हुने समयमा प्रदान गरिने खोप सुपरभाईजर खत्रीले बताए । खोप अभियान संचालनका निम्ती ३३९ जना स्वास्थ्यकर्मीहरु परिचालन गरिएको थियो ।
 जिल्लामा सवै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत खोप लगाउने उमेर समुहका विद्यार्थीको तथ्याङका आधारमा लक्ष्य निर्धारण गरिएको  थियो ।   विद्यार्थीको तथ्याङ्क अनुसार लक्ष्य निर्धारण गर्दा खोप कभरेज सत प्रतिशत नदेखिएपनि हालको तथ्याङ अनुसार कुनै पनि बालबालिका खोप लगाउनबाट बञ्चित नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  ‘कार्यालयले यदी अभियानमा छुटेका बालबालिकालाई छन भने खोजी खोजी खोप प्रदान गर्न सवै स्थानिय तह र स्वास्थ्य संस्थालाई आग्रह गरेको छ कार्यालय प्रमुख एव जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले भने,—‘अभियान सकिए सँगै प्रत्येक समुदायमा हाम्रा स्वास्थ्यकर्मीलाई पुन खोजपडताल गर्न पठाएका छौं यदी अभियानमा कोही छुटेको भए नियमित खोप प्रदान गर्ने समयमा पुन खोप प्रदान गरिनेछ ।’ 
विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको हो । नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र ७ पटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको हो । 
 

प्रतिक्रिया