जनप्रतिनिधिको रुपमा पाउने सेवा सुविधा सामाजिक काममा लगाउँछु—राजु थापा

  • ब‌ैशाख २१, २०७९

बागलुङ- पाँच दलीय गठबन्धनको काठेखोलामा चुनावी सभा धम्जामा सम्पन्न भएको छ । काठेखोला—३ मा आयोजित चुनाव सभामा बोल्दै गठबन्धनबाट गाउँपालिका अध्यक्षका उम्मेदवार राजु थापाले जनप्रतिनिधि निर्वाचित भएपछि जनप्रतिनिधिको रुपमा आफुले पाउने सेवा सुविधा सामाजिक काममा लगाउने बताए । ‘म गाउँपालिका अध्यक्षमा जनताको सेवाका लागि पाँच वर्ष खटिन्छु भनेर उम्मेदवार बनेको हुँ,’ उनले भने,‘जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सेवा सुविधाको रुपमा आउने तलब भत्ता मैले आफ्नो लागि प्रयोग नगरी यहाँकै नागरिकको सहयोगका लागि सामाजिक कार्यमा खर्च गर्नेछु ।’ 
उनले आफु बाध्यताले विदेश पुगे पनि यहाँको राजनीतिक अवस्था र काठेखोलाको जनताको अवस्थाका विषयमा नजिक रहेको र आफुले धेरै अप्ठ्यारामा सहयोग पनि गरेको उनले बताए । ‘म एउटा परिस्थीति र बाध्यतामा विदेश गएको थिएँ, म विदेशमा भए पनि यहाँको समुदाय र जनतासंग टाढा कहिल्यै भईन,’ उनले भने,‘म यहाँका साथीहरुसंग निरन्तर सम्पर्कमा थिएँ र अप्ठ्यारोमा सक्दो सहयोग पनि गरेको थिएँ ।’ कुराले भन्दा पनि काम गरेर देखाउन चाहेकोभ न्दै आफ्नो टिमलाई मतदान गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा तिलकले आस्था र निष्ठाको राजनीति गर्न एमालेलाई आग्रह गरे ।
 ‘एमालेका साथीहरु विभीन्न लाञ्छना लगाउँदै र प्रोपोगन्डा चलाउँदै हिँडेको भन्ने थाहा भएको छ,’ उनले भने,‘म एमाले साथीहरुलाई आग्रह गर्छु । निष्ठा र आस्थाको राजनीति गर्नुहोस् ।’ उनले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनका कारण पाँच दलीय गठबन्धन बनेको बताए । कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका—३ का वडाध्यक्षका उम्मेदवार यामबहादुर श्रीसले धम्जाको फाँटमा बंगुर फार्म सञ्चालन गरेको भनि अहिलेका उम्मेदवार १४ लाख रुपैयाँ लगेर काम नै नगरेको बताए । ‘धम्जा फाँटमा फार्म सञ्चालन गरेको भनि लगेको १४ लाखको काम देखिएको छैन,’ उनले भने,‘चरचरे डाँडाँमा चरचरेको तेल निकाल्ने भनेर किनिएको मेसिन अलपत्र पार्ने काम गरिएको छ । अहिले तीनै साथीहरुको कुरा ठूला गरेको सुन्छु ।’ 
उनले पुराना कामलाई पूर्णता दिनका लागि आफु फेरी उम्मेदवार बनेको बताए । ‘मेरो कार्यकालमा धेरै कामहरु यहाँ सुरुवात भएका छन्,’ उनले भने,‘एमालेका कारण मैले ती कामहरु पूरा गर्ने वाताबरण बनेन । अहिले त्यसलाई पूरा गर्नका पनि पुनः उम्मेदवार बनेको छु । यहाँहरुको साथ हामीलाई रहन्छ भन्ने विश्वास छ ।’ उनले एमाले भित्र मौलाएको अराजताको विरोधमा आफु नेकपा एकीकृत समाजवादी पार्टीमा लागेको बताए । उनले कृषिलाई व्यवसायिक बनाउने, पर्यटकीय धार्मिक स्थललाई विशेष प्राथमिकता दिने, शिक्षा स्वास्थ्यमा योजनावद्ध गुणस्तरवृद्धि गर्ने बताए । 
कार्यक्रममा बोल्दै एकीकृत समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष रामजी शर्माले केपी ओलीको अराजकताबाट देशलाई बचाउन आफुहरुले विद्रोह गरेको बताए । ‘एमाले अध्यक्ष केपी ओलीले देशलाई प्रतिगमनतर्फ धकेले, नेपाली जनताको बलिदानबाट प्राप्त उपलब्धीलाई खाल्डोमा हालेर हिँडेपछि हामीले आफ्नै पार्टी भित्र विद्रोह गरेका हौं,’ शर्माले भने,‘ओलीले प्रतिगमन चाहेका छन् भन्ने कुरा त अहिलेको स्थानीय निर्वाचनमा उनले राजावादीहरुसंग गरेको गठजोडले पनि पुष्टी गरेको छ ।’ 
उनले देश र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको र तीन तहकै निर्वाचनमा गठबन्धन कायम रहने उनले दाबी गरे । ‘अहिले स्थानीय निर्वाचनमा हामी गठबन्धनको रुपमा साझा उम्मेदवार तय गरेर आएका छौं,’ उनी भन्छन्,‘तीन तहकै निर्वाचनमा यो गठबन्धन कायम रहन्छ । प्रतिगमनको मतियारहरुलाई यो निर्वाचनबाट पत्तासाफ पार्नुपर्छ ।’ कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी  केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संसदीय दलका नेता पियारी थापा सुप्रभा, संविधान सभा सदस्य केशरी घर्ती, नेपाली काँग्रेस बागलुङकी सहसचिव ज्ञानु श्रीस शर्मा, नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य होमबहादुर हमाल लगायतले बोलेका थिए ।
 नेपाली काँग्रेस धम्जाका सभापति दीपेन्द्र रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत काँग्रेस गण्डकी प्रदेश महाधिवेसन प्रतिनिधि प्रकाश राना र सञ्चालन एकीकृत समाजवादी पार्टीका नविन थापाले गरेका थिए । 
 

प्रतिक्रिया