नेकपा एमाल को दशौं राष्ट्रिय महाधिवेशन अन्तरगत गाउँ र नगरपालिकाको अधिवेशन मंगलबार देखी सुरु भएको थियो । जिल्लाका दश स्थानिय तह मध्य ७ स्थानिय तहमा सुरु भएको अधिवेशनमा जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकामा भने लामो समयमको प्रयास पश्चात बुधबार मात्र सर्वसम्मन नयाँ नेतृत्व टुंगिएको छ । बागलुङ नगर कमिटीको अध्यक्षमा धनबहादुर परियारको नेतृत्वमा ८६ सयस्यीय नगरकमिटि चयन गरिएको छ । कमिटिको उपाध्यक्षमा खिमराज सापकोटा, सचिवमा रामकृष्ण शर्मा चयन भएका छन । त्यसैगरी उप सचिवमा कृष्ण कार्की र गंगा केसी चयन भएको नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए । यस अघि पनि नगर कमिटिको संयोजक रहेका अध्यक्ष परियार विभिन्न संघसंस्थामा पनि नेतृत्व समाल्दै आएका हुन ।
नगरसमितिको उपाध्यक्षका सापकोटा बागलुङ नगरपालिकाका–६ का वडा अध्यक्ष हुन भने सचिव शर्मा प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव हुन । अध्यक्षमा उम्मेदवारी दिएका शर्मालाई सर्वसम्मतमा जाँदै गर्दा सचिवमा चयन गरिएको छ ।
अध्यक्षका लागी धनबहादुर परियार सँगै रामकृष्ण शर्मा, खगराज पाण्डे, रुद्रबहादुर महत, धुब्रबहादुर केसी र गणेश थापाले उम्मेदवारी दर्ता गरेका थिए । त्यसैगरी उपाध्यक्षका लागि टिकाराम शर्मा, कल्पना श्रेष्ठ, शेखर खड्का, खिमराज सापकोटा र मधु पौडेलले उम्मेदवारी दर्ता गराएका थिए सचिवमा अगन बहादुर खड्का राजु, चन्द्र गणेश र बैकुण्ठ सापकोटाले उम्मेदवारी दिएका थिए । नगर समितिको उपसचिवमा कृष्ण प्रसाद गौतम, बालकृष्ण शर्मा, धुव्र श्रेष्ठ, गंगा केसी, कृष्ण कार्की, मनोज थापा, कृष्णप्रसाद आचार्य र कालिका सापकोटाको उम्मेदवारी परेको थियो ।
एउटै पदमा धेरैजनाको उम्मेदवारी परेपनि अन्तत अध्यक्ष मण्डलबाट सर्वसम्मतमा नयाँ नेतृत्व टुंगाएको निर्वाचन संयोजक विष्णु प्रसाद शर्माले जानकारी दिए ।
सचिव पदका उम्मेदवारको असन्तुष्टी
सर्वसम्मत नयाँ नेतृत्व टुंगिए पनि सचिव पदका उम्मेदवारहरुले भने असन्तुष्टी जनाएका छन । सचिव पदका ३ उम्मेदवारले सामाजिक संञ्जाल मार्फत जुन पद हो त्यही पद बाहेक अन्य पदमा उम्मेदवारी दिएकालाई अध्यक्ष मण्डलले सचिव बनाएको भनी असुन्तुष्टी जनाएका छन । उनिहरुले आफुहरुले अध्यक्षको टुंगिएमा सहमतीमा जाने निधो गरेता पनि अध्यक्ष मण्डले उम्मेदवार नै नहालेका व्यक्तिलाई सचिव बनाएको प्रति असन्तुष्टी जनाएको बताएका हुन । ‘सचिव पदका उम्मेदवार चन्द्र गणेशले लेख्छन् बागलुङ नगर कमिटीको हिजोबाट सुरु भएको प्रथम अधिवेशनबाट अवैधानिक रुपमा कमिटी गठन भएछ ! उद्घाटनपछि निर्वाचन प्रक्रियामा गइसकेको अवस्थामा अध्यक्ष मण्डलका नेताहरुले तानाशाही प्रवृत्ती देखाउँदै गुटबन्दी, व्यक्तीवादी चरित्र देखाउँदै कमिटी घोषणा गरेछन् । निर्वाचन प्रक्रियामा गइसकेपछि सचिव पदका तीन उमेदवारले दिएको लिखित निवेदनको समेत वास्ता नगरी उमेदवारी फिर्ताको समेत प्रक्रिया नपुराइ गरिएको कमिटी बैधानिक होला र ? यसले नेकपा एमाले बागलुङ नगरमा नयाँ तरङग ल्याएको छ ।
यस विषयमा नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले भने सर्वसम्मतका लागि हल र उम्मेदवारहरुले अध्यक्ष मण्डललाई म्यान्डेट दिए पछि उम्मेदवार दिएका मध्येबाट पनि केही तलमाथि भएको बताएका छन । ‘सर्वसम्मतको प्रयासमा उम्मेदवार दिएका मध्यबाट नै बन्ने भन्ने हुँदैन सापकोटाले भने उम्मेदवार र हलले अध्यक्ष मण्डललाई म्यान्डेट दिएको थियो सोही अनुसार अध्यक्ष मण्डलले निर्णय गरेको छ । सर्वसम्मत गर्दा सोही पदमा उम्मेदवारी दिएको नपर्न पनि सक्छ । यो पार्टी संगठन निर्माणलाई बलियो बनाउनका लागि तलमाथि गर्नुपर्ने अवस्था अनुसार निर्णय गरिएको हो । उनले सर्व स्थानिय तहमा सर्वसम्मत गराउनका निम्ती यसै गरी निर्णय गरिएको बताए ।
जिल्लामा बाँकी ३ स्थानिय तहमा पनि कात्तिक १५ गते सम्म अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष सापकोटाले बताए । जैमिनी नगरपालिकामा विहिबार हुने छ भने निसीखोलामा शनिबार सम्पन्न हुनेछ त्यसैगरी बरेङ गाउँपालिकामा पनि केही वडामा अझै टुंगिन बाँकी रहेको हुँदा १५ गते सम्ममा गाउँपालिकाको अधिवेशन सम्पन्न हुने नेकपा एमाले बागलुङले जनाएको छ ।