बागलुङ - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय नजिकिए सँगै विभिन्न राजनितिक दलहरु उम्मेदवारको टुंगो लगाएका छन । नेकपा एमालले बागलुङ जिल्लाका २ वटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्रका लागि प्रत्यक्ष तर्फ उम्मेदवारको टुंगो लगाएको छ । एमालले प्रतिनिधि सभा तर्फ क्षेत्र नं. १ मा सुर्य पाठकलाई नै दोहोराउने भएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला सह–इन्चार्ज समेत रहेका पाठक २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । एमालेले क्षेत्र नं. १ प्रदेश सभा (क) मा जिल्ला अध्यक्ष हिराबहादुर केसी र प्रदेश (ख) केन्द्रीय सल्लाहकार नवराज पौडेललाई उम्मेदवार बनाउने गरेको छ । पौडेल केही समय पहिले नेपाली काँग्रेसबाट नेकपा एमालेमा प्रवेश गरेका थिए । उनि काँग्रेस बागलुङको महाधिवेशन प्रतिनिधि हुन भने पुर्व जिल्ला सचिव समेत हुन । एमालेले क्षेत्र नं. २ मा एमाले गण्डकी प्रदेश कमिटि सदस्य मञ्जु शर्मा चालिसेलाई संघिय निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ । केही समय पहिले काँग्रेस छाडेर एमालेमा आएकी चालिसे काँग्रेसको महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्य समेत रहेकी थिईन । स्थानिय तहको निर्वाचनमा काँग्रेसबाट गलकोट नगरपालिकाको नगरप्रमुखको टिकट नपाए पछि स्वतन्त्र रुपमा नगरप्रमुखको उम्मेदवार बनेकी उनी पछि एमालेमा प्रवेश गरेकी थिईन ।
एमालेले क्षेत्र नं. २ (क) ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्तिलाई उठाउने भएको छ भने, प्रदेश (ख)मा लक्ष्मण पुनलाई उठाउने निधो गरेको छ । घर्ति अघिल्लो स्थानिय तहको निर्वाचनमा ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारको रुपमा गाउँपालिका अध्यक्षमा निर्वाचन लडेका थिए । उनि अहिले अध्यक्ष धनबहादुर विक संग पराजित भएका थिए । घर्ती औपचारिक रुपमै एमालेमा प्रवेश भने गरेका छैनन् । उनि औपचारिक रुपमा पार्टी प्रवेश नगरेपनि एमालेको तर्फबाट उम्मेदवार निश्चित भएको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र गणेशले जानकारी दिए । घर्ति यस अघि नेकपा माओबादी केन्द्रबाटै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । पुन नेकपा एमाले बागलुङका जिल्ला उपाध्यक्ष हुन ।
नेकपा एमालेले बागलुङमा ६ जना उम्मेदवार मध्ये ३ काँग्रेस र माओबादी केन्द्रमा सक्रिय राजनिति गरेका नेताहरुलाई उम्मेदवार बनाएको छ । एमालेले यस अघि काँग्रेसले सिफारिस गरेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पनि समानुपातिक सुचिमा राखेको छ ।