बागलुङ- गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङमा झण्डै ११ प्रतिशत मत बदर भएको तथ्यांक छ । आंशिक र पूर्ण बदर मतको प्रतिशतलाइ हेर्दा मतदाता शिक्षाको अभाव देखिन्छ । १०.६३ प्रतिशत मत बदर भएपछि जिल्ल निर्वाचन कार्यालय आगामी मंसिरमा त्यो संख्या घटाउने अभियानमा लागेको छ ।
हरेक निर्वाचनको समयमा बिभिन्न समस्याहरुका कारण मत बदर हुने गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भने बदर मत कम गर्ने लक्ष्य राखिएको छ । चार वटा मतपत्रमा मतदान गर्नुपर्ने निर्वाचनमा कसरी मतदान गर्ने र मतदान केन्द्रको स्थिती कस्तो हुने भनेर सहजताका लागि बागलुङमा नमूना मतदान कार्य संचालन गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय बागलुङले बागलुङका दश पालिकामा नमूना मतदान कार्य संचालन गरिरहेको हो । बागलुङमा आइतबारदेखि नमुना मतदान कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए । सूचना अधिकारी शर्माले चार स्थानीय तहमा नमूना मतदान भएको बताए ।
‘अहिलेसम्म निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने गलकोट नगरपालिका, निसीखोला, बडिगाड, ताराखोला गाउँपालिकामा नमुना मतदानको कार्य सम्पन्न भइसकेको छ, शर्माले भने, ‘क्षेत्र नम्बर २ मा पर्ने ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकासहित क्षेत्र नं. १ मा पर्ने बागलुङ, जैमिनी नगरपालिका, काठेखोला र बरेङ गाउँमा केहि दिनमा सम्पन्न गर्छौ ।’
धेरै मतदातले मतदान गर्दा मत बदर गर्ने सम्भावनालाई कम गर्न नुमना मतदान कार्य सुरु गरेको सूचना अधिकारी शर्माले बताए । उनले हालसम्म सम्पन्न भएका नमुना मतदानमा केही मतमात्र बदर देखिएपनि अधिकांशले बदर नगरेको बताए । ‘नमुना मतदान कार्यमा निसीखोला गाउँपालिकामा १, २ मतहरु बदर भएको पाइयो,’ सूचना अधिकारी शर्माले भने, ‘अन्य पालिकामा बदर मत देखिएन । निसीखोलामा पनि जानेकैले कस्तो हुँदो रहेछ भनेर जानीजानी बदर गरेको जस्तो देखियो ।’
नमुना मतदानले मत बदर नहुने विश्वास गरिएको सूचना अधिकारी शर्माको भनाई छ । नमुना मतदानमा सम्बन्धित पालिकाका स्थानीय, कर्मचारी र सुरक्षाकर्मीहरुको सहभागिता रहने गरेको छ । बागलुङमा मत बदर नहोस् भनेर मतदाता शिक्षा कार्यक्रम पनि संचालन गरिएको छ । कार्तिक १८ गतेदेखि स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरि घर घरमा मतदाता शिक्षा दिन सुरु गरिएको शर्माले बताए ।
निर्वाचन कार्यालय बागलुङले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । कार्यालयले मतदानस्थलमा खटिने कर्मचारीहरुको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरिसकेकोले बताएको छ । सूचना अधिकारी शर्माले मतदानस्थलमा खटिने कर्मचारीहरुलाई तालिम र निर्वाचन अधिकृतको कार्यालयसम्म निर्वाचनका सामग्री पु¥याउने काम मात्र बाँकी रहेको बताए । उनले कार्तिक २८, २९ गतेसम्म निर्वाचनको तयारी पूरा हुने जानकारी दिए ।