जननिगरानी साप्ताहिक पत्रिका छैठौं वर्षमा

  • असार ५, २०७९

बागलुङ- बागलुङको गुहेली संचार सहकारीबाट प्रकाशित हुँदै आएको जननिगरानी साप्ताहिक पत्रिका आजदेखि छैठौं वर्षमा प्रवेश गरेको छ ।
पत्रिकाको पाँचौं बार्षिकोत्सवको उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले पत्रिकाले थप व्यवसायी प्रतिस्पर्धामा अगाडी बढ्न शुभकामना दिए ।  
उनले  गण्डकी प्रदेशसभाले आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गरेपनि विनियोजित विधेयक सांसदहरुलाई उपलब्ध नगराएको बताए । सांसद सापकोटाले आफुलाई जनताहरुले कहाँ कहाँ कति बजेट पर्यो भनेर सोध्नुभएको छ तर मैले जब सम्म विनियोजित विधेयक मेरो हातमा आउँदैन तब सम्म भन्न नसक्ने बताए ।  पैसा कमाउन राजनीति नगर्न सांसद सापकोटाले सुझाव दिए । उनले पैसा कमाउनको लागि अन्य व्यवसाय रहेकोले समाजसेवा गर्नको लागि मात्र राजनीतिमा आउनुपर्ने बताए । उनले अहिले राजनीतिक दलका नेताहरुको कुनै पेशा व्यवसाय नरहेपनि उनीहरुले राम्रो आम्दानी गरिरहेको बताउँदै उनीहरुको आम्दानीको श्रोत के हो भनेर पत्रकाहरुले खोजी गर्नुपर्ने बताए । 
कार्यक्रममा काँठेखोला गाउँपालिकाका निर्वतमान अध्यक्ष अमर बहादुर थापा, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, जिल्ला सहकारी संघ बागलुङका निवर्तमान अध्यक्ष दिपक गौतम र नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
बार्षिकोत्सवको अवसरमा स्थानीय तहको निर्वाचन र विभिन्न संघसंस्थामा निर्वाचित हुने सहकारीका शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । सहकारीको शेयर सदस्य रहेका काँठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, काठेखोला गाउँपालिका–२ का वडाअध्यक्ष विद्यापति शर्मा, कार्यपालिका सदस्य टिका संगम विक, सुन्तली विक, वडा सदस्यहरु भीम बहादुर केसी, सरेश बहादुर थापा, चन्द्रकला थापा, बुद्धिकला किसान, वडा नम्बर ३ धम्जाका वडा सदस्य, प्रेम बहादुर घर्ती मगर र बिष्णु वि.कलाई सम्मान गरिएको थियो । यस्तै उद्योग वाणिज्य संघ बागलुङको सदस्यमा निर्वाचित भएका शेयर सदस्य राजु गौतम र जिल्ला सहकारी संघ बागलुङको सदस्यमा निर्वाचित हुने शेयर सदस्य जगन्नाथ सापकोटालाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत पत्रिकाका सम्पादक नविन शिशिर वि.क. र संचालन सचिव सुर्य बहादुर थापाले गरेका थिए । 
२०६४ सालमा काठेखोला गाउँपालिका–२ भीमापोखरामा स्थापना भएको गुहेली सञ्चार सहकारी संस्था लिमिटेडले हाल जननिगरानी साप्ताहिक पत्रिका र खबरवे अनलाईन संचालन गर्दै आएको छ । 

प्रतिक्रिया