पत्रकार महासंघ बागलुङको १४ औँ साधारण सभा तथा २६औं स्थापना दिवस सम्पन्न

  • असार २५, २०८३

बागलुङ -  नेपाल पत्रकार महासंघ बागलुङको १४ औं साधारणसभा तथा २६ औं स्थापना दिवस सम्पन्न भएको छ । बिहिबार आयोजित साधारणसभामा रजत वर्ष स्तम्भ अनावरण, ‘अबको पत्रकारिता’ विषयक पुस्तक विमोचन र पुरस्कार वितरण गरिएको छ । उक्त साधारणसभाको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले वर्तमान सरकारले नागरिक अधिकार हनन् हुने गरी सूचनाको अधिकारमा धावा बोलेको बताएका छन् । उनले नागरिक अधिकार कमजोर बन्दा लोकतन्त्र पनि कमजोर बन्ने खतरा औंल्याए ।
जनताले पाउने सूचनाको हक कमजोर बनाइयो भने लोकतन्त्र कमजोर बन्छ । आम नागरिकले सही सूचना थापा पाउन पत्रकारिता बलियो चाहिने, सूचनाको हकमा पहुँच बढाउनुपर्नेमा सरकारले निरन्तर ती अधिकार खुम्च्याएको बताए । पेशागत हित र नागरिक अधिकार रक्षाका लागि महासंघ सडकमा आउन बाध्य भएको पनि बताए ।
‘संचार क्षेत्र नियमत गर्नुपर्छ भनेर महासंघले धेरै पहिलादेखि भन्दै आएको छ, तर यो सरकारले नियमनको नाउँमा नियन्त्रण गर्न थाल्यो’ आचार्यले भने, ‘सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुष्ठित बनाउन खोज्दैछ ।’ सरकारी विज्ञापनको नाउँमा प्रवेश गरेको सरकारले विभिन्न शब्दजालबाट प्रेस स्वतन्त्रता पनि संकुचन पार्न उद्दत रहेको आचार्यको आरोप छ । वर्तमान सरकारको गतिविधिले पत्रकारको मात्र होइन, जनताको सूचनाको हक पनि कुण्ठित भएको उनले बताए ।
बाहिर देख्दा सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै प्रकाशन गर्ने विषय भएपनि संसदमा रिपोर्टिङ गर्न नदिएको, विषयगत समिति, प्रधानमन्त्री कार्यालय, सिंहदरवार भित्रका हरेक गतिविधिको स्वतन्त्र र निर्वाध रिपोर्टिङका बन्देज लगाइएको पनि उनले बताए । ‘हाम्रा धेरै साथीहरु संसदीय रिपोर्टिङ गर्न नपाएको गुनासो लिएर आइरहेका छन्’ उनले भने, ‘सूचनाको हक कमजोर बन्दा नागरिक अधिकार पनि खुम्चिएको छ ।’ नेपालको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा पत्रकारले खेलेको भूमिकालाई समेत अहिले नजरअन्दाज गरिएको उनको टिप्पणी छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले पत्रकारले राज्यको पहुँच नपुगेको स्थानलाई उजागर गरेको भन्दै अझै पर्यटन र सुशासनको क्षेत्रमा कमल चलाउन आग्रह गरे । ‘ढोरपाटनको बहुरुप बारे पत्रकारले लेखेरै प्रचार भएको हो’ थापाले भने, ‘अझै सुशासनमा पनि कलम चलाइ दियो भने राम्रो हुन्छ ।’ पालिकाले गरेका राम्रा र नराम्रा काम केलाउन पनि पत्रकारलाई उनले आग्रह गरे ।
कार्यक्रममा महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारले कन्टेन्टमा काम गर्न सुझाए । महासंघ पेशागत हितमा काम गर्छ, पत्रकारले प्रविधिको गतिमा कन्टेन्ट बनाउने हो भन्दै ढिलाई गर्दा युट्युव र अन्य सामाजिक संजाललाई जनताले विश्वास गरेको बताए ।
२०५७ सालमा स्थापना भएको महासंघको बागलुङ शाखाले यो वर्षभरी रजत जयन्ती मनाएको हो । गत चैत २० र २१ गते ‘मिडिया मेला’ आयोजना गरेको थियो । यो मेलामा १० वटा प्यानल डिस्र्कसन, परम्परागत मिडिया सामाग्री प्रर्दशनी, फोटो प्रर्दशनी, भित्तेपत्रिका लेखन र लाइभ चित्रकला लेखन पनि गरेको थियो । रजत वर्षकै अवसरमा महासंघमा रजत स्तम्भ निर्माण गरिएको छ भने अबको पत्रकारिता विषयमा पुस्तक पनि प्रकाशित गरेको महासंघका अध्यक्ष राम थापा ‘अबिरल’ले बताए ।
महासंघ बागलुङ शाखाले रजत महोत्सवको अवसरमा जिल्लामा क्रियाशिल दुइ पत्रकारलाई पुरस्कृत गरेको छ ।
बागलुङ शाखामा स्थापना गरिएको ‘टिका–धन पत्रकारिता पुरस्कार’बाट नेपाल टेलिभिजनका संवाददाता किरण आचार्य र ‘विकास पौडेल स्मृति पत्रकारिता पुरस्कार’बाट आदर्श अनलाइनका पत्रकार विनोद थापालाई पुरस्कृत गरेको हो ।
हाँक साप्ताहिकबाट पत्रकारिता शुरु गरेका आचार्य हाल नेपाल टेलिभिजनमा आवद्व छन् । आचार्य साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । रेडियो ढोरपाटनबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका थापा हाल आदर्शसञ्चार अनलाइन र न्यु २४ टेलिभिजनमा कार्यरत रहेको महासंघका उपाध्यक्ष सिर्जना पन्तले जानकारी दिईन । 
महासंंघका सदस्य समेत रहेका मित्रलाल खरेलले आफ्ना बाबुआमाको स्मृतिमा ‘टिकाधन पत्रकारिता पुरस्कार कोष स्थापना गरेका छन् । त्यस्तै पुर्व पत्रकार बिकास पौडेलको स्मृतिमा उनकी पत्नि रचना आचार्य र भाई बिष्णुराज पौडेलले ‘बिकास पौडेल स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरेका छन् । पौडेलको कोरोना संक्रमणले २०७८ सालमा निधन भएको थियो ।
२०५७ सालमा बिदुर खड्काको संयोजकत्वमा गठन भएको महासंघ संस्थागत रुपमा पहिला धौलागिरि शाखा र अहिले बागलुङ शाखाको रुपमा काम गर्दै आएको छ । महासंघले अन्य कोषबाट पनि पत्रकार पुरस्कार र सम्मान गर्दै आएको सचिव नारायण रिजालले जानकारी दिए । 
 कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम, शाखाका सल्लाहकार तारानाथ आचार्य, पुर्व अध्यक्षहरु रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, नरेश कँडेल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सदस्य खिमानन्द पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अबिरल’को अध्यक्षता, उपाध्यक्ष सुवास आचार्यको स्वागत, सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया