बागलुङ- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा विभिन्न क्षेत्रमा गएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रबुद्ध युवा समूह, बागलुङले राहत तथा सहयोगमा हातेमालो गरेको छ ।
समूहले आयोजना गर्न लागेको “गण्डकी प्रदेश स्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०८३” देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरेको थियो। कार्यक्रमका लागि उठेको रकममध्ये रु. १ लाख सामाजिक तथा मानवीय क्षेत्रमा सहयोगका लागि व्यवस्थापन गरिएको समूहले जनाएको छ।
उक्त रकममध्ये रु. ८५ हजार बाढीपहिरो प्रभावितका लागि राहत तथा सहयोगमा, रु. १० हजार नेपाल पत्रकार महासंघ बागलुङको लेखनवृत्ति कोषमा जम्मा गरिएको छ भने रु. ७ हजार पत्रकार सम्मेलन तथा अन्य व्यवस्थापन खर्चमा प्रयोग गरिएको समूहले जनाएको छ ।
सनिवार बसेको समूहको बैठकले भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा तथा आसपासका क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिए ।
अध्यक्ष सुनारका अनुसार प्राकृतिक विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक संस्थाको दायित्व भएकाले सरकार तथा सम्बन्धित निकायलाई राहत र उद्धार कार्यमा सहयोग पुग्ने गरी विपद् कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायतका क्षेत्र प्रभावित भएका छन् ।
बाढीले बस्ती, बजार, सडक, प्रहरी कार्यालय तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्याएको छ ।
विपद्को घडीमा उत्सवभन्दा मानवीयता ठूलो हो भन्ने सन्देश दिँदै कार्यक्रम स्थगित गरेर पीडितको सहयोगमा रकम परिचालन गरेको प्रबुद्ध युवा समूहको यो कदमले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता देखाएको छ