बागलुङ- कालिगण्डकी करिडोर बागलुङ खण्ड एक सातापछि नियमित संचालनमा आएको छ । गत शुक्रबार देखी अवरुद्ध सडक एक सातापछि संचालनमा आएको हो । जैमिनी नगरपालिका–८ को बेलबगर र चौरीखोलामा निरन्तर पहिरो खसेर सडक अवरुद्ध थियो । अवरुद्ध करिडोरमा पटक पटक पहिरो थपिएपछि यायायात ठप्पै थियो । जैमिनी नगरपालिका, जिल्ला प्रशासन र कालीगण्डकी करिडोर आयोजना कार्यालयको पहलमा सडक डिभिजन कार्यालय बागलुङ समेतले निरन्तर काम गर्दा शुक्रबार मात्र पहिरो पन्छाएपछि सवारी चल्न थालेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
करिब एक साताको निरन्तर प्रयास पछि शनिबारदेखि सर्तकता अपनाएर एकतर्फी सवारी चल्न सक्ने गरी सडक सुचारु गरिएको बागलुङका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । उक्त स्थानमा अझै पनि पहिरो र लेदो निरन्तर खसेका कारण सतर्कता अपनाउन प्रहरीले अनुरोध समेत गरेको छ । बागलुङ, म्याग्दी र मुस्ताङ आएका पर्यटक गुल्मी, पाल्पा र बुटवल फर्कन करिडोरको बाटो बढी उपयोग हुँदै आएको छ । बागलुङदेखि पोखरा, स्याङजा हुँदै बुटवल जाने सडक भन्दा करिडोर ४ घण्टा छोटो छ । पछिल्लो समय भारतीय भक्तजन र पर्यटकले यो सडक धेरै उपयोग गर्न थालेका छन् ।
सडक अवरूद्ध भएपछि साता दिनसम्म गाडिहरु रोकिएपछि पर्वतको फलेवास हुँदै मिर्मि निस्कने गरी गाडी चल्न थालेका थिए ।
चौरीखोलाको ठूलो पहिरो पन्छाइएको र निरन्तरको वर्षामा खस्ने लेदो र ढुंगा भने नियमित पन्छाएर सवारी चल्न सक्ने व्यवस्थापनमा जैमिनी नगरपालिकाले पनि सहजीकरण गरेको उपप्रमुख शर्माले बताए ।