बागलुङ- जिल्ला प्रशासन कार्यालय बागलुङले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका निम्ती स्वास्थ्य परिक्षण कक्ष संचालन गरेको छ । विशेष गरी जेष्ठ नागरिकहरुलाई लक्षित गरी जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कक्ष संचालन गरिएको हो । पछिल्ला दिनमा राष्ट्रिय परिचय पत्र, राहदानी लगायतका सेवा लिनका निम्ती बढिनै मात्रामा जेष्ठ नागरिकहरुनै सेवाग्राही आउने गरेको हुँदा उनिहरुको स्वास्थ्यलाई ध्यानमा राखेर परिक्षण कक्षको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिए । कार्यकक्ष संचालनसँगै सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्ध सकारात्मक हुनेमा विश्वास लिईएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।
स्वास्थ्य परिक्षण कक्षमा दैनिक एक जना स्वास्थ्यकर्मी हुनेछन भने सेवाग्राहीलाई सामान्य जाँच सँगै स्वास्थ्य परामर्श प्रदान गरिने छ । यसका साथै सिटामोल, जिवनजल लगायतका औषधी प्रदान गरिनेछ । कार्यालयमा स्वास्थ्य परिक्षणका निम्ती बागलुङ नगरपालिकाले एक जना स्वास्थ्यकर्मी खटाएको छ र औषधीको व्यवस्थापन पनि गरेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले बताए । स्वास्थ्य परिक्षणका क्रममा थप केही जटिलता देखिएका सेवाग्राहीलाई थप स्वास्थ्य जाँचका लागि सल्लाह सुझाव दिईने खनालले बताए ।
आईतबार प्रशासनमा सेवा लिन आएका बागलुङ नगरपालिका—१३ पैयुँपाटा ७९ बर्षिया खगराज गिरीको स्वास्थ्य जाँच गरी सेवा प्ररारम्भ गरिएको थियो । प्रशासनमा राष्ट्रिय परिचयपत्र सँगै आफ्नो राहदानी बनाउन आएको गिरीले यही आफ्नो प्रेसर नाप्न पाउँदा खुसी व्यक्त गर्दै थप सेवा पाएको अनुभुती भएको बताए ।
सेवाग्राहीको स्वास्थ्य जाँचका लागि बागलुङ नगरपालिका, स्वास्थ्य कार्यालय, धौलागिरी अस्पताल र जिल्लाका अन्य स्थानिय तहबाट थप प्राविधिक सहयोग हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले जेष्ठ नागरिककै लागि लक्षित गरी राष्ट्रिय परिचयपत्र बनाउनका निम्ती छुट्टै कक्ष तयार पारेको छ भने अपाङ्गताको सहायहताको लागि ह्विल चियरको समेत व्यवस्था गरेको छ । आगामी दिनमा प्रशासनबाट प्रदान गरिने सेवा प्रवाहलाई थप सहज बनाउनका निम्ती कार्यालयले अन्य आवश्यक व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी सुवेदी बताउँछन ।