गण्डकी प्रदेश सरकारका उर्जा, खानेपानी तथा जलश्रोत मन्त्री हरिशरण आचार्यले आगामी एक वर्षभित्र गण्डकी प्रदेशका ११ वटै जिल्लामा एक लाखा खानेपानीका धारा जडान गर्ने योजना रहेको बताएका छन । बागलुङ जिल्लामा संचालन भएका विभिन्न खानेपानीका योजनाहरुको अनुगमनमा आएको मन्त्री आचार्यले गण्डकी प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानीको सुबिधा दिन आफ्नो मन्त्रालय प्रतिवद्ध रहेको बताए । उनले एक वर्षभित्रमा लक्ष प्राप्तीका लागि १ लाख धारा जडान गरिसक्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिए ।
मन्त्री आचार्यले सवै ठाउँमा एकैपटक स्रोत साधन नपुग्ने भन्दै प्राथमिकताका आधारमा क्रमागत योजनाहरु पुरा गर्ने गरी प्रदेश सरकारको योजना रहेको बताए । ‘प्रदेश सरकारको पहिलो प्राथमिकता आधारभुत तहको खानेपानी पु¥याउने रहेको छ, त्यसपछि स्वच्छ खानेपानी पु¥याउँछौं’ मन्त्री आचार्यले भने ‘मन्त्रीसँग जनता, समस्या समाधानका लागि मन्त्रालय अभियानमा लागेका छौं सवै नागरिकलाई स्वच्छ पानी खुवाउनका निम्ती हामी प्रतिवद्ध छौं ।’
उनले मन्त्रालय कम र सर्वसाधारणका समस्या समाधानमा बढी समय खर्चिने आफ्नो मन्त्रालयको अभियान रहेको जानकारी गराए । ‘अहिले पनि हामी कुवाको धमिलो पानी खाईरहेका छौं, यो दुर्भाग्य हो’ उनले भने ‘कोभिड लगायतका कारण सरकारी ढिकुटी कम भयो, स्रोत जुटाएर हामी घर घरमा पानी पु¥याउने अभियान सफल पार्छौं ।’
गण्डकी सरकारले बागलुङमा सुरु गरेको लामाचौर–रमेटार लिफ्टीङ खानेपानी आयोजनाको अनुगमन गर्दै मन्त्री आचार्यले लिफ्टीङ खानेपानी र सिंचाईका योजनाका लागि विद्युत निशुल्क बनाउन सरकारी स्तरबाट पहल भैरहेको बताए ।
मन्त्री आचार्यले बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको सिंचाई आयोजना अनुगमन गरेका छन् । शनिबार पर्वतका खानेपानी आयोजनाहरुको निरीक्षण गरेका आचार्यले साविकको धौलागिरीमा सञ्चालित सिंचाई, उर्जा र खानेपानीका योजनाको अनुगमन गरि आवश्यक सहयोगका लागि प्रतिबद्धता जनाए । शनिबार नै मन्त्री आचार्य बागलुङ नगरपालिका–१३ पैयुँपाटा, नारायणस्थान र जैमिनी नगरपालिकामा रहेका खानेपानीका योजनाहरु अनुगमन गरेका छन ।