बागलुङ - राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ निर्वाचन क्षेत्र न.१ का उम्मेदवार सुशील खड्काले बागलुङको गुमेको राष्ट्रिय गौरव फिर्ता गर्ने बताएका छन् । शनिबार पत्रकार सम्मेलनमा उनले कुनै समय बागलुङको गौरव राष्ट्रिय स्तरमा रहेको तर पछिल्लो समय क्षयिकरण हुँदै गएको बताए ।
‘कुनै समय बागलुङको गौरव राष्ट्रिय स्तरमा थियो, यहाँ टकसरा थियो, पैसा यहिँ बनाइन्थ्यो । शिक्षामा अब्बल थियो । राणाकालमा नै यहाँ महिलाहरु विद्यालयमा जान्थे, यहाँ अध्ययन गरेका विद्यार्थीहरु प्रतिष्ठित व्यक्तिका रुपमा परिचित छन् ।’ उनले भने–‘पछिल्लो समय बागलुङको यो गौरव क्षयिकरण भइरहेको छ ।’
बागलुङ सांस्कृतिक तथा धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको उनको भनाई छ । उनले गण्डकी प्रदेशमा सबैभन्दा धेरै स्पिचुवल (आत्मिक) स्थलहरु बागलुङमा रहेको बताए । ‘बागलुङ धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण छ, गण्डक सभ्यताका हिसाबले महत्वपूर्ण छ ।’ उनले भने–‘यो महत्वपूर्ण बागलुङको राष्ट्रिय गौरव फर्काउन म लाग्नेछु ।’
उनले अफ्नो बाचा पत्रमा युवाले स्वदेशमै सम्मानजनक रोजगारी पाउने र दीगो आर्थिक नीतिले देशको अर्थतन्त्र बलियो बनाउने उल्लेख गरेका छन् । उनले बागलुङमा १२ हजार रोजगारीहरु सिर्जना गर्ने आफ्नो प्रतिबद्धतामा उल्लेख गरेका छन् । ‘आउँदो ५ बर्षमा वातावरणमैत्री क्षेत्रहरुलाई राष्ट्रिय प्राथमिकतामा राखी स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै नेपालभर बाह्र लाख र बागलुङमा युवा र महिला लक्षित बाह्र हजार रोजगारीहरु सिर्जना गर्ने नीति’ बनाउने उल्लेख गरेका छन् ।
उनले उद्यमीलाई प्रोत्साहन गर्ने आर्थिक नीति र राज्यको प्राथमिकता बन्ने उल्लेख गरेका छन् । उनले आफ्नो सपनाको बागलुङमा एक वडा एक कृषि प्राबिधिक (जेटीए) सुनिश्ति गर्दै व्यवसायीक कृषिमा लगानी गर्ने नीति बनाउने उल्लेख गरेका छन् । स्थानीय कृषि उत्पादनकोलागि प्रशोधन, चिस्यान, भण्डारणनको व्यवस्था गर्ने, कृषकको उत्पादनको बैज्ञानिक र उचित समर्थन मुल्य तोकिदिने, कृषि र पशु बिमा अनिवार्य गर्ने नीति बनाउने उल्लेख गरेका छन ।
कृषिलाई आधुनिकीकरण गर्दै कृषि उत्पादनको राष्ट्रिय र अन्तराष्ट्रिय बजारीकरण गर्न प्याकेजिङ, ट्याग सहितको ब्राण्डिङ, प्रमाणिकरण, डिजिटल बजार प्रणालीको व्यवस्था र स्थानीय हाट बजारहरु स्थापना गर्ने उल्लेख गरेका छन् । खानेपानी र सिँचाइकालागि थोपा सिँचाई, पोखरी निर्माण, मुलुको संरक्षण, आकाशे पानीको पुर्नभरण जस्ता प्राकृतिक प्रबिधिको प्रयोग, माटो परीक्षण गरि बागलुङका गाउँहरुमा उपयुक्त नगदे बालिको पकेट क्षेत्रहरु विकास गर्ने नीति बनाइने उनको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।