बागलुङ- राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमिति बागलुङले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आफ्नो उम्मेदवार सिफारिस गरेको छ । पार्टीको जिल्ला कार्यसमितिको बैठकको निर्णय अनुसार प्रतिनिधि सभाका लागि समानुपातीक निर्वाचन प्रणाली तर्फ आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको हो ।
केही दिन पहिले केन्द्रीय सभापती रवि लामिछाने बागलुङ आए पश्चात गठन भएको जिल्ला कार्यसमितिले विहिबार समानुपातिकका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।
पार्टीले बागलुङ नगरपालिका–२ का महेन्द्र खड्का, काठेखोला गाउँपालिका–२ का गणेश पौडेल, गलकोट नगरपालिका–७ का चित्रबहादुर थापा, बागलुङ नगरपालिका–१३ का रामप्रसाद अधिकारी र निसीखोला गाउँपालिका २ का श्याम बहादुर छन्त्यालको नाम सिफारिस गरेको जिल्ला सभापति गणेश पौडेलले बताए ।
सिफारिस परेका पौडेल, खड्का र अधिकारी यस अघि काँग्रेसका जिल्ला स्तरीय नेता थिए । पौडेल लोक तथा दोहोरी गायक पनि हुन । सिफारिस भएका अधिकारी पनि ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष थिए । उनले विहिबार मात्र आफु यस पार्टीमा लागेको र समानुपातिकमा सिफारिस भएको बताए ।
गत शनिबार गणेश पौडेलको सभापतित्वमा जिल्ला समिति गठन गरिएको थियो । पहिलो चरणमा समानुपातिक सिफारिस गरिएको र प्रत्यक्ष तर्फ फेरी सिफारिस गरिने जिल्ला सभापति पौडेलले बताए ।