बागलुङ - गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको नतिजा आए सँग बागलुङ नगरपालिका नव निर्वाचित जनप्रतिनिधिलाई विहिबार सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको छ । नगरपालिकामा निर्वाचित नगरप्रमुख उप्रमुख वडा अध्यक्ष र वडा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईएको हो ।
बागलुङ नगरपालिकाका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई सपथ ग्रहण गराएका थिए भने नगर उप–प्रमुख राजु खड्का, सवै वडा अध्यक्ष र वडा सदस्यहरुलाई नगरप्रमुख श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । बागलुङ नगरपालिकाका १४ वटै वडामा निर्वाचित जनप्रतिनिधिले एकै पटक सपथ ग्रहण गरेका हुन ।
सपथ ग्रहण पश्चात बोल्दै नगरप्रमुख श्रेष्ठले अबको पाँच वर्ष जनताको सुख दुःखको सारथी बन्दै सवै नगरबासी प्रति उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । उनले नगरपालिकामा निर्वाचित सवै जनप्रतिनिधिले अबको नगरपालिका कस्तो बनाउने भन्ने योजना सहित आएको र सवै हातमा हात काँधमा काँध मिलाएर अगाडी बढ्ने बताए । ‘बागलुङका जनताले जुन जिम्मेवारी हाम्रो काँधमा दिनुभएको छ । हामी सवै हातमा हात काँधमा काँध मिलाएर विकासका लागि लाग्नुपर्ने छ, उपस्थित वडा अध्यक्ष र वडा सदस्यलाई केन्द्रीत गर्दै श्रेष्ठले भने,–‘हामी सवै जनताप्रति उत्तरदायी बन्नुपर्ने छ । अबको पाँच वर्षमा बागलुङ नगरपालिकालाई धेरै परिवर्तन गर्नुपर्ने छ ।’
उनले नगरमा सुसासन कायम गर्नका लागि र स्वच्छ नगरपालिका स्थापित गरी समुन्नत र समृद्धि नगरपालिका बनाउने जिम्मेवारी हामी सँग आएको हुँदा सवै वडा तह देखी मिलेर अगाडी बढ्नुपर्ने बताए । ‘हामीले कतिपय कुराहरुमा कठोर निर्णय गर्नुपर्ने पनि हुन सक्छ कतिपय कुरामा गल्ती पनि हुन सक्छन, हामीलाई गलत बाटो हिँडन नदिन समय समयमा खबरदारी पनि आवश्यक छ । श्रेष्ठले भने,–‘जनताको साथ र खबरदारी दुवै आवश्यक पर्दछ । बागलुङ नगरपालिका धौलागिरी अञ्चलको विकास सँग जोडिएको नगरपालिका भएका कारण यसका बारेमा गम्भिर रुपमा सोच्नुपर्ने बुझेको छु । त्यसका लागि हरेक राजनितिक दलका नेता सँग समन्वय गरेर अगाडी बढ्ने छौं ।’
श्रेष्ठले निवर्तमान नगरप्रमुख जनकराज पौडेलका पाँच वर्षको अनुभवलाई समेटेर उहाँको निरन्तर सहयोगका साथ अगाडी बढ्ने बताए । ‘हामीलाई भरर्खर आफ्नो कार्यभार पुरा गर्नुभएका मेयरसाबको पनि साथ र सहयोग चाहिन्छ । नगरको समुन्नत विकासका लागि उहाँले चालेका कदम र योजनालाई निरन्तरता दिने छौं । श्रेष्ठले भने– ‘जनकदाईले देखेका सपनालाई साकार पार्न लाग्ने छौं । त्यसका लागि उहाँको सहयोग निरन्तर आवश्यक पर्दछ ।’
श्रेष्ठले दिन रात नभनी नथाकी अहोरात्र इमान्दारीताका साथ खटेर स्वच्छ नगरपालिका बनाउनका लागि स्वच्छ छविका साथ अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले स्थानिय तहको निर्वाचनलाई सम्पन्न गर्नका निम्ती महत्वुपुर्ण भुमिका खेल्ने सवै निर्वाचन अधिकृत, सुरक्षा निकाय प्रमुख प्रशासन कर्मचारी र संचारकर्मी लाई हार्दिक धन्यबाद व्यक्त गरेका थिए ।
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको भनोभावना अनुसार काम गर्नुका लागि आग्रह गरेका थिए । सपथ ग्रहण कार्यक्रममा जिल्लामा क्रियाशिल राजनितिक दलका नेता तथा पुर्व सांसद संविधान सभा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बागलुङ नगरपालिकाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस बासुदेव न्यौपानेको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलको स्वागत र बागलुङ नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत पुरुषोत्तम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।