जापानवासी गलकोटेको मन, नगर अस्पतालमा "अल्ट्रासाउन्ड"

  • भदौ ७, २०८०

बागलुङ  - जिल्लाको गलकोट क्षेत्रका धेरै नेपाली दाजुभाई रोजगारीका लागि जापान गएका छन । दैनिक दुःख गर्छन आफु र आफ्नो परिवारको चिन्ता त छँदै छ । आफ्नो गाउँ र आफ्नो ठाउँको विकासका पनि चिन्ताले पिरोलिरहन्छ । कहिले गाउँका लागि एम्बुलेन्स त कहिले दिर्घरोग लागेर आर्थिक अवस्था कमजोर भएका लागि आर्थिक सहायता गर्छन । यस क्षेत्रको शिक्षा स्वास्थ्य र सामाजिक क्षेत्रको विकासका निम्ती उनिहरुले गलकोट समाज जापान भन्ने संस्थानै स्थापन गरेर निरन्तर सहयोग गर्दै आएका छन ।  समाज मार्फत गलकोटको हरिचौरमा संचालन भएको गलकोट नगर अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको  ’अल्ट्रासाउन्ड’ मेसिन सहयोग गरेका छन् । 
’अल्ट्रासाउन्ड’ उपकरण बिहीबार गलकोट समाज जापानका उपाध्यक्ष अमर भण्डारीले अस्पताललाई हस्तान्तरण गरेका हुन् । समाजले यसअघि नगर अस्पताल संचालनका लागि दर्जनौं सामग्री, उपकरण तथा भवन निर्माणमा समेत सहयोग गरेको थियो । 
अस्पताल संचालन गर्न समाज मार्फत एम्बुलेन्ससमेत सहयोग आएको नगर प्रमुख भरत शर्मा गैरेले बताए । अस्पताल भित्रै डेन्टल मेसिन, भिडियो एक्स–रे,आँखा उपचार केन्द्र, बिरामी सुत्ने आधुनिक शय्या, फोल्डिङ गर्ने बिरामी कुरुवा कुर्सी लगायतमा पनि समाजबाट सहयोग आएको छ ।  एक वर्षदेखि गलकोटमा नगर अस्पताल १५ शैयाको क्षमतामा संचालनमा छ । यहाँ एमडीजीपी डाक्टर राजेश पौडेल सहित दुई जना चिकित्सक र अन्य स्वास्थ्यकर्मीको दरबन्दी व्यवस्थापन गरेपछि अस्पतालमा दैनिक १ सय ७० जनासम्म बिरामीले उपचार सेवा पाएको तथ्यांक छ । ‘यति धेरै जनताले नियमित सेवा पाउने भएपछि हामीले जापानमा बसेर पनि सहयोग जुटायौं,’ गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले भनिन्, ‘गाउँको विकासमा विदेशमा बसेर पनि धेरैको चिन्ता र चासो छ ।’ सहयोग भित्र्याउन नगर प्रमुख गैरे सहित स्वास्थ्य शाखाका प्रमुख सुशील पौडेल र वडाध्यक्षहरुले पनि साथ दिएको थापाले बताइन् ।
गलकोट समाजले स्थानीय बिरामी पर्दा उपचार खर्च, खेलकुद कार्यक्रम हुँदा पुरस्कार र सामग्री खर्च पनि जापानबाट पठाउने गरेको छ । भूकम्पको बेला सिन्धुपाल्चोकमा पुगेर विद्यालय उनीहरुले बनाइदिएका थिए । गाउँमा उपचार नपाएर थलिएका तथा दुर्घटनामा परेका बिरामीलाई उपचारमा पनि लाखौं सहयोग गरेको अध्यक्ष थापाले बताइन् । 
 

प्रतिक्रिया