बागलुङका नगरका वडा तहमा मेलमिलाप केन्द्र स्थापना

  • असार ३१, २०८०

बागलुङ । जिल्लाको बागलुङको नगरपालिकाले वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरेको छ । स्थानीय स्तरमा हुने विवादका घटना वडामै मिलापत्र गराउने उद्देश्यले नगरपालिकाले वडा–वडा मै मेलमिलाप केन्द्र स्थापना गरेको हो । स्थानीय स्तरमा हुने स–साना झगडा, विवाद लगायत घटना पालिकासम्म नल्याइकन सोही ठाउँबाटै समाधान गर्नका लागि मेलमिलाप केन्द्र स्थापना गरिएको बागलुङ नगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक राजु खड्काले जानकारी दिए । 
नगरपालिकाबाट सञ्चालन हुने मेलमिलाप कार्यक्रममा स्थानीयलाई सम्मिलित गराई स्थानीय विवाद दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गराउन मेलमिलाप केन्द्र स्थापना गरिएको खड्काले बताए । प्रत्येक वडामा रहेका मेलमिलाप कर्ता मार्फत केन्द्रमै छलफल गरी  मिलापत्र गराईने छ । 

आईतबार बागलुङ नगरपालिका–१ रामरेखामा एक कार्यक्रमका विच मेलमिलाप केन्द्रको स्थापना गरिएको छ । कार्यक्रममा बोल्दै नगर उपप्रमुख खड्काले मेलमिलाप सम्बन्धी कार्यसञ्चालन तथा व्यवस्थापनमा एकरुपता कायम गरी न्यायमा समुदायको सहज पहँच अभिवृद्धि गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने बताए । उनले समुदायमा हुने विवादलाई न्यायिक समितिबाट सञ्चालित मेलमिलाप केन्द्रमा आवद्ध मेलमिलापकर्ताले सहजीकरण गरी दुवै पक्षहरूको सुमधुर सम्बन्ध स्थापित गर्न बताए । 
बागलुङ नगरपालिकाले १४ वटै वडामा केन्द्रको स्थापना गर्ने योजना बनाएको न्यायिक समितिका सदस्य एवं बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए । उनले समाजमा भएका सामान्य विवादलाई मेलमिलाप केन्द्रमार्फत छलफल गरेर दुवै पक्षलाई हार्न नदिनका निम्ती केन्द्रको स्थापना गरेको बताए । स्थानीय शासन ऐन, २०७४ बमोजिम उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भएको र न्यायिक समितिमा आउनुभन्दा वडा तहमै मुद्धाहरु मेलमिलाप मार्फत टुंगियोस भन्ने उद्देश्यले हरेक वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको गौतमको भनाई छ । 
कार्यक्रममा अधिवक्ता ममतादेवी शर्मा, समाजसेवी केवीराना मगर, मेलमिलापकर्ता तथा स्थानिय समाजसेवी दुर्गाबहादुर आचार्य लगायतले सामान्य विवादहरु मेलमिलाप मार्फत नै टुंगाउनुपर्ने बताए । सो अवसरमा मेलमिलाप केन्द्रका लागि आवश्यक सामाग्रीहरु पनि हस्तान्तरण गरिएको थियो । 
कार्यक्रम बागलुङ नगरपालिका–१ का वडा अध्यक्ष जयबहादुर केसीको अध्यक्षता वडा सचिव सुस्मा गौतमको स्वागत र उजुरी प्रशासक हरि गौतमको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया